काठमाडौं - राप्रपाले आफूलाई हिन्दुवादी दल मान्छ । बुढापाका र हिन्दुवादीको मत पाउन उसले यस्तो नाटक गरेको रहेछ भन्ने समानुपातिक सांसद सिफारिस गरेका अनुहारले पुष्टि गरेको छ ।
राप्रपाले क्रिश्चियन धर्म प्रचारक बिना लामालाई समानुपातिक सांसदमा सिफारिस गरेको छ । २०७४ मा उनी धादिङको रूबीभ्याली गाउँपालिकाको उपाध्यक्ष निर्वाचितसमेत भएकी थिइन्। रुविभ्यालीमा क्रिस्चियनहरूको बहुमत छ ।
आफूलाई सनातन हिन्दु धर्मको ठेकेदार भनेर दाबी गर्ने तर क्रिस्चियनलाई सांसद बनाएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको उछितो काढ्न सुरु गरिएको छ । उनले आफ्नै दाबीमाथि भद्दा मजाक गरेको भन्दै आलोचना हुन थालेको छ ।
पार्टी अध्यक्ष भएपछि लिङ्देनले आफू भ्रष्टाचार पनि नगर्ने अरुलाई पनि गर्न नदिने बताएका थिए । तर व्यवहारमा ठीक उल्टो गरिरहेका छन् । उनले बर्दियाकी गीता बस्नेतलाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको छ।
बस्नेतलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा मनोनीतसमेत गरेका थिए। उनी लामो समयदेखि राप्रपामा छिन्। उनले २०७४ को चुनावमा गुलरिया–७ मा वडाध्यक्ष जितेकी थिइन्।
बर्दियामा उनी निकै विवादास्पद छवि बोकेकी व्यक्ति हुन् । उनीमाथि करौडौंका आर्थिक अनियमितताको आरोप लागेको छ । उनले आफ्नो ज्वाइँसँग मिलेर करोडौं निक्षेप भएको सहकारी डुबाएको समाचार सार्वजनिक भइसकेको छ ।
यस्ता विवादास्पद व्यक्तिलाई समानुपातिक सूचीमा राखेर सांसद बनाएपछि लिङ्देन रक्षात्मक बनेका छन् । उनी बाहिर खुलेर बोल्न सकेका छैनन् । ८० वर्ष नाघेका, पटकपटक अवसर पाएका, करोडौं हिनामिनामा मुछिएकालाई सांसद बनाएपछि राप्रपामा भाँडभैलो सुरु भएको छ । सामाजिक सञ्जालमा त लिङ्देनको उछितो नै काढिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।