काठमाडौं - शंकर पोखरेल एमालेको महासचिव । अध्यक्ष केपी ओलीको उत्तराधिकारी । पार्टी सञ्चालनमा हर्ताकर्ता । एमाले नेता कार्यकर्ता पोखरेलमा मदन भण्डारीको छायाँ देख्छन् । त्यही भएर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत उनीप्रति धेरै सदभाव राख्छिन् ।
तर, एमालेइतरमा भने शंकर पोखरेलको छवि राम्रो छैन । जसरी दोस्रो पुस्ताका नेता, त्यसमा पनि पार्टी चलाउने हैसियतमा रहेका नेता अरु पार्टीका नेता कार्यकर्ताको रुचिमा पनि पर्नुपर्ने हो त्यो शंकर पोखरेलमा देखिएन । यसपटक उनी दाङ २ बाट माओवादीकी रेखा शर्मासँग पराजित हुँदा कसैले ज्या समेत भनेनन् ।
अर्थात् एमालेका एकाधबाहेक कसैले पनि उनीप्रति सहानुभूति राखेको पाइएन । शंकर पोखरेल महासचिव नभइञ्जेल त्यति विवादमा परेका थिएनन् । तर जब उनले केपी ओलीको हरेक गलत कदमलाई साथ दिँदै गए, अन्ध समर्थक बने त्यसबेलादेखि शंकरले आफ्ना अनुयायी र शुभेच्छुक गुमाउँदै गएका हुन् ।
यसपटक उनी चुनाव हार्नुको मुख्य कारण उनको रुखो बोली हो । ओलीको भक्तिगान हो । यदि नेकपाकालमै उनले ओलीलाई गलत कदम नचाल्न रोक्न सकेको भए, संसद् विघटन गर्न नदेको भए अहिले उनी एमालेमा सर्वस्वीकार्य नेता बन्थे । तर परिस्थिति अर्कै देखिएको छ ।
अबको पाँच वर्षसम्म उनी सरकार सञ्चालन गर्ने ठाउँमा पुग्न सक्दैनन् । मुख्यमन्त्री बन्दा पनि लकडका भरमा चलाएकाले उनी विवादित बनेका थिए । त्यसमाथि एमालेमा अब विष्णु पौडेलको वर्चस्व बढ्ने देखिएको छ । पाँच वर्ष भनेको थोरै समय होइन ।
ओलीले अर्को चुनाव पनि ताकेकाले शंकर पोखरेलले यो जुनीमा प्रधानमन्त्रीको पालो नपाउने भएको छ । आफ्नै कर्मका कारण हारेका पोखरेलले अहिले स्याङ्जा २ र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नांगो धाँधली गरेको र निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् ।
जबकि आयोगका प्रमुख आयुक्त उनकै पार्टीका कार्यकर्ता हुन् । यदि कांग्रेसले सेटिङ गर्न सकेको भए सुवास नेम्वाङ, गोकुल बास्कोटा, विष्णु पौडेल, योगेश भट्टराई कोही पनि चुनाव जितेर आउन सक्ने थिएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।