आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेलले प्रदीप पौडेलका बारेमा छरेको भ्रमको पर्दाफास, मालपोत कार्यालयले खोलिदियो सत्य कुरा 

ईश्वर पोखरेलले प्रदीप पौडेलका बारेमा छरेको भ्रमको पर्दाफास, मालपोत कार्यालयले खोलिदियो सत्य कुरा 

  • मिडिया डबली
  • बिहिवार, मंसिर १ २०७९

  • 4.2K
    SHARES

  • ईश्वर पोखरेलले प्रदीप पौडेलका बारेमा छरेको भ्रमको पर्दाफास, मालपोत कार्यालयले खोलिदियो सत्य कुरा 
    फाइल तस्बिर

    काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलका बुबा (डिल्लीरमण)सँग जोडिएर आएको जग्गासम्बन्धी विवादमा उनको बुबाको संलग्नता नरहेको पुष्टि भएको छ । मालपोत कार्यालय तनहुँले प्रदीपका बुबा संलग्न भनि आएको जग्गाको कुनै विवरण फेला नपरेको जानकारी दिएको हो । 

    मालपोत प्रमुख चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित पत्रमा जग्गाको विवरण खोजी गर्दा फेला नपरेको उल्लेख छ । कार्यालयको मोठ, रोक्का र कम्प्युटर फाँटमा भिडाएर हेर्दा डिल्लीरमण पौडेलका नाममा कुनै पनि विवरण फेला नपरेको हो । 

    तनहुँको साविक ढोरफिर्दी–३ तथा हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित ढोरफिर्दी ३।ख कित्ता नम्बर १३९१ को क्षेत्रफल जग्गा पौडेलका बुबाको नाममा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । पौडेलको परिवारै संलग्न नभएको यो विषय बाहिरिएपछि पौडेलले मालपोत कार्यालय तनहुँमा यथार्थ जानकारीका लागि निवेदन दिएका थिए । 

    सोहीअनुसार मालपोत कार्यालयले दिएको जवाफमा भनिएको छ, ‘प्रस्तुत विषयमा तपाईंले साविक ढोरफिर्दी–३ हालको शुक्लागण्डकी नपा वडा नं ८ स्थित ढोरफिर्दी ३.ख कि.नं.१३९१ को क्षेत्रफल एक रोपनी जग्गा सोही वडा निवासी डिल्लीरमण पौडेलको नाममा भए नभएको स्पस्ट पारिदिनुहुन भनी दर्ता नं ४७२२ मिति २०७९।०७।२७ बाट यस कार्यालयमा निवेदन दिनु भएकोमा, डिल्लीरमण पौडेलको नाममा ढोरफिर्दी ३. ख कि.नं. १३९१ को जग्गाको विवरण खोजी गर्दा फेला नपरेको भनी यस कार्यालयको मोठ रोक्का र कम्प्युटर फाँटबाट भिडी आएको हुँदा सोही ब्यहोरा अनुरोध छ ।’ 

    मालमोत कार्यालयले पौडेल नजोडिएको पुष्टि गरेसँगै चुनावको मुखमा उनीमाथि निराधार आरोप लगाइएको पुष्टि भएको हो । एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलको योजनामा भ्रामक आरोप लगाइएको पौडेल निकट स्रोतको दाबी छ । पोखरेलको मुख्य प्रतिस्पर्धा पौडेलसँग रहेको र पौडेलको लोकप्रियता बढेपछि पराजित मानसिकताका साथ भ्रामक खबर फैलाइएको खुलेको छ । उसो त तथ्यहीन समाचार भूमिगतरुपमा सञ्चारमाध्यमहरुमा इमेल गरिएको थियो । 

    निर्वाचनलाई प्रभावित गर्न तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार निर्माण गर्नेहरुले २०५२ सालमा सुकुम्बासी आयोगबाट बाबुका नाममा जग्गा दर्ता गराउन प्रदीप संलग्न रहेको उल्लेख गरेपनि त्यतिबेला निज प्रदीप आफ्नो व्यक्तित्वमार्फत उक्त निर्णय गराउन सक्ने हैसियतमा नभएको उनको उमेरले पनि पुष्टि गर्छ ।

    मालपोत कार्यालयको ठहरसँगै यस विषयलाई प्रदीप पौडेलको निर्वाचन अभियानलाई प्रभावित गर्ने कुत्सित मनसायले भ्रम फैलाइएको पुष्टि हुन्छ । 

    No description available.

    कारबाही गर्न आयोगको निर्देशन

    पौडेलविरुद्ध भ्रामक समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई निर्देशन दिएको छ । 

    आयोगले ‘प्रदीप पौडेलले सुकुम्बासीको नाममा सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा’ भन्ने शिर्षकमा समाचार प्रकाशित गर्ने नेपाल डटकमसहितका सञ्चारमाध्यममाथि आवश्यक छानबिन गरी कारवाही गर्न काउन्सिललाई निर्देशन दिएको हो । 

    कांग्रेस प्रचार प्रसार समितिको पनि ध्यानाकर्षण

    पौडेलमाथि गरिएको गलत प्रचारप्रति नेपाली कांग्रेस काठमाडौं ५ निर्वाचन प्रचारप्रसार समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

    प्रदीप पौडेलले सुकुम्बासीको नाममा सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा, प्राध्यापक कुटपिटमा संलग्न खालका भ्रामक समाचारले जनमानसमा अन्योल सिर्जना गरेको भन्दै तत्काल कारवाहीको समेत माग गरेको छ । 

    समितिद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ, ‘जिल्ला मालपोत कार्यालयले नै खण्डन गरिसकेको यस्तो समाचार यसै क्षेत्रबाट प्रतिनिधिसभा तर्फ प्रदीप पौडेलसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डे सम्पादक रहेको दैनिक नेपाल डटकमबाट आउनुलाई हामीले पत्रकारिता होइन सिधै राजनीतिक षडयन्त्र मानेका छौँ ।’ 

    साथै, दैनिक नेपालबाटै अन्य आपत्तिजनक भिडियो पनि आएकाले त्यसप्रति पनि गम्भीर आपत्ति भएको समितिले जनाएको छ । 

    ‘मिडियाको यो तहको दुरुपयोगले हाम्रा प्रतिस्पर्धीहरुको मानसिक पराजय र राजनीतिक संस्कारको शुन्यता देखाउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो तहको विकृत कसैलाई मान्य हुन सक्दैन र प्रदीप पौडेलले आजसम्मको राजनीतिक र सार्वजनिक जीवनमा निष्ठा, इमान र नैतिकतामा आफ्नो पुस्ताकै मानक हुनुुहुन्छ ।’

    आचारसंहिता विपरीतको हर्कत

    मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन गत असोज १२ गतेदेखि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको थियो । 

    सो निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ण) मा कसैको चरित्र हत्या गर्न नहुने विषय उल्लेख छ । तर, पौडेललाई जोडिएको समाचारमा सिधै आधारहीन आरोप लागाएर भूमिगतशैलीमा चरित्रहत्या गरिएको आरोप छ । सो दफामा व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउन नहुने व्यवस्था रहेको छ । 

    दफा २५ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ज) मा राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ । 

    निर्वाचन आचरसंहितामा उल्लिखित व्यवस्था रहेको सन्दर्भमा निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा निजको परिवारको चरित्र हत्या गर्ने वा व्यक्तिगत लाञ्छना लगाउने गरि प्रचार भएकाले निर्वाचन आयोगको समेत यसमा ध्यानाकर्षण हुनुपर्ने प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend