काठमाडौं - रामहरि खतिवडा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य । गत वर्ष सम्पन्न कांग्रेसको महाधिवेशनमा उनी टप पाँच केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका थिए ।
खतिवडा यसपटक पनि ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा एमाले र माओवादीको तालमेलले जितबाट थोरै चुक भएका खतिवडा यसपटक सानदार ढंगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने संकेत देखिएको छ । चुनावी माहोल हेर्दा उनका प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवार छायाँमा परेका छन् ।
ओखलढुंगा नेपाली कांग्रेसको प्रभाव भएको जिल्ला हो । कांग्रेसमा एउटा भनाइ नै छ, कांग्रेस आफूभित्रकै अन्तर्घातले हार्छ । अघिल्लो निर्वाचनमा पनि खतिवडा पार्टीभित्रकै एउटा पक्षको असहयोगले पराजित भएका थिए । तर, यसपटक त्यस्तो देखिएको छैन । कांग्रेस सबै एकढिक्का छन् । पहिले देखिएका विवाद मिलेका छन् ।
त्यति मात्र होइन, निर्वाचनमा पराजित भए पनि खतिवडा कहिल्यै चुप लागेर बसेनन् । उनी जस्तोसुकै समयमा पनि जिल्लावासीको घरघरमा पुगे । विकासका योजना लिएर गाउँगाउँ पसे ।
सडक, पूर्वाधारका योजना मात्र होइन, प्राकृतिक विपत्तिमा परेका जिल्लावासीको पीडा कम गर्न उनले औषधिको व्यवस्था, उपकरणसमेत ओखलढुंगामा जडान गरे ।
खतिवडाको कर्मले विकास र जनताको काम गर्न सांसद नै हुनुपर्छ भन्ने कुरालाई गलत सावित गर्छ । त्यही भएर यसपटक उनलाई ओखलढुंंगावासीले प्रतिनिधिसभामा पुगेको देख्न चाहेका छन् ।
कांग्रेसको नेतृत्व र गठबन्धनका शीर्ष नेताले खतिवडाका लागि भोट मागिदिनुपरेको छैन । उनी एक्लै काफी छन् । उनी जहाँ पुग्छन् त्यहाँ स्थानीयले धेरै माया देखाएको प्रस्ट छ ।
खतिवडामा देखिएको समाजसेवा र विकासको भावनाको कदर गर्दै कांग्रेस महामन्त्री गगन थापाले भिडियो सन्देशमार्फत खतिवडालाई जिताएर पठाउन अपिलसमेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।