काठमाडौं – नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमाथि प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज मंगलबार बिहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाएका छन् ।
राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा देशका विभिन्न ठाउँमा प्रदर्शन भइराख्दा त्यसबारे साझा धारणा बनाउन बैठक बोलाइएको चर्चा भएको छ । ‘जुलुस निकाले भनेर सर्वदलीय मिटिङ ? सरकारले राम्रो काम गरोस् न कोही जनता सडकमा निक्लिँदैनन् । सरकारले जनतालाई विश्वास दिलाउनुपर्यो, यो सरकारसँग विश्वास छ भन्ने, त्यो छैन,’ मिडिया डबलीसँग कुरा गर्दै नेता खतिवडाले भने ।
पार्टीका बैठकमा सहभागी नहुने प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राख्नु पनि अनौठो रहेको नेता खतिवडाले बताए । ‘आफू केही गर्न नसक्ने, सर्वदलीय मिटिङ जुलुस निकाल्या भरमा ? यो भन्दा लाजमर्दाे केही हुन्छ ?’ उनले भने, ‘पार्टीको मिटिङमा भाग नलिने, पार्टीका साथीहरूले बोलाउँदा सचिवालयदेखि स्थायी कमिटीमा उपस्थित हुन नसक्ने । सर्वदलीय !?’
पुल उद्घाटन गर्ने क्रममा प्रहरी लगाएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई थुनेको विषय सर्वदलीयमा छलफल हुने कि नहुने भनेर नेता खतिवडाले प्रश्न गरेका छन् । ‘कांग्रेसका नेतालाई उद्घाटन गर्दा थुन्ने, अनि त्योबारे सर्वदलीयमा छलफल हुने कि नहुने ?’ उनले प्रश्न गरे । नेता पौडेललाई थुनेपछि आक्रोशित कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।