काठमाडौं - कानुन व्यवसायी हुँदै एकैपटक एमालेको राजनीतिमा स्थापित भएका सुवास नेम्वाङको आगामी संसद् यात्रा कठिन हुने देखिएको छ ।
तत्कालीन एमाले नेता माधवकुमार नेपालको कृपाकै कारण राष्ट्रिय सभा सदस्य हुँदै प्रतिनिधिसभा सदस्यमा निरन्तर चुनाव जित्दै आएका नेम्वाङ कानुनमन्त्री हुँदै आठ वर्षभन्दा बढी सभामुख र संविधानसभा अध्यक्ष रहे ।
संविधान बनाउने बेला समन्वयकारी भूमिका खेलेका नेम्वाङ जबदेखि एमाले अध्यक्ष केपी ओलीको गलत र संविधान विरोधी कदमको फड्के किनाराका साक्षी बन्दै आए, तबदेखि उनको लोकप्रियतामा ह्रास आउन थालेको हो ।
ओली प्रधानमन्त्री हुँदा दुई दुईपटक संसद् विघटन गर्दा पनि नेम्वाङले गलत भन्न सकेनन् । उनले मौनता साँधे । जबकि उनलाई थाहा थियो, ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी मध्यरातमा संसद् विघटन गरेको ।
तर, उनले मिडियालाई आफू यस विषयमा नबोल्ने भन्दै पन्छिरहे । सांसद निर्वाचित भइसकेपछि एकपटक पनि निर्वाचन क्षेत्र टेक्न नजाने, पार्टी अध्यक्षको संविधानविरोधी कदममा बोल्न नसक्ने भएकैले यसपटक नेम्वाङलाई सांसद बनेको देख्न इलाम २ का मतदाताले चाहेका छैनन् ।
नेम्वाङ फेरि पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका केशव थापालाई पराजित गरेका थिए। नेम्वाङले ३६ हजार पाँच सय १७ मत ल्याएका थिए भने थापाको २६ हजार आठ सय ६५ मत आएको थियो।
तर गत स्थानीय तह निर्वाचनको मत परिणाम जोड्दा एमालेभन्दा कांग्रेस अगाडि देखिएको छ। स्थानीय निर्वाचनको मत परिणामअनुसार इलाम–२ मा कांग्रेस झन्डै साढे पाँच हजार मतले अगाडि देखिन्छ।
पालिका अध्यक्षहरूको जोड्दा कांग्रेसको कुल ३७ हजार ९१४ मत देखिन्छ भने एमालेको ३२ हजार १३४ मत रहेको छ। त्यसैले इलाम–२ मा के हुन्छ भनेर यसै भन्न नसकिने स्थानीय बताउँछन्।
नेम्वाङलाई पहिलाका तुलनामा यो चुनाव चुनौतीपूर्ण देखिन्छ। एकातिर गठबन्धनको भार अर्कोतर्फ आफ्नै कमजोरीका कारण उनलाई गाह्रो पर्न सक्ने स्थानीय राजनीतिका जानकारहरू बताउँछन्।
स्थानीय तह चुनावमा टिकट वितरणमा भेदभाव भएको भन्दै पार्टीभित्रै असन्तुष्टिसमेत बढेका छन्। त्योसँगै विकास निर्माणको काम नगरेको भन्दै एमालेसँग इलाम–२ का मतदाताको असन्तुष्टि बढेको देखिएको छ । विशेषगरी राँके–रवि सडक नबनेकामा नागरिक असन्तुष्ट छन् ।
इलामको ठूला ‘प्रोजेक्ट’मध्येको यो एक हो, यो सडक। उक्त सडक खण्ड धनकुटा, इलाम र पाँचथरको सिमानामा पनि पर्छ। जुन सडकको केपी ओलीले नै शिलान्यास गरेका थिए ।
तर ठेकेदारको लापर्वाहीले काम पूरा भएको छैन। अहिले बाटोको स्थिति झन् खराब रहेको देखिन्छ। अहिले आएर ठेकेदारलाई सजाय दिलाउनेभन्दा पनि अघिल्लोपटक गरिएको ठेक्का सम्झौता तोडेर टार्ने मनस्थिति नेम्वाङमा देखिएको छ। यसलाई लिएर नागरिक असन्तुष्टि बढेको छ ।
भौगोलिक हिसाबले पनि विकट रहेको इलाम–२ मा बाटो, बिजुली, बत्तीलगायत पूर्वाधार निर्माणमा नेम्वाङले काम गर्न नसकेको भन्दै उनीमाथि असन्तुष्टि बढिरहेको हो।
सामाजिक सन्जालतिर हेर्दा पनि इलाम–२ मा सडक निर्माण र अन्य विकास निर्माणका काम नभएको भन्दै नेम्वाङको आलोचना सुनिन थालेका छन्।
गठबन्धन एकढिक्का भएर लाग्यो भने नेम्वाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्का चुनौती बन्न सक्ने देखिएको छ। कांग्रेसकै नेताहरू पनि चुनाव जित्नेमा आशावादी देखिन्छन्।
क्षेत्रमा कांग्रेसको संगठन मजबुद भएको र नेम्वाङले आजसम्म विकासको काम राम्रोसँग नगरेकाले आफूले जित्ने आधार रहेको कांग्रेस नेताहरूको दाबी छ। ‘गठबन्धनका कारण ७/८ हजार मतले आफू विजयी हुने कांग्रेस उम्मेदवार खड्का बताउँछन् ।
नेम्वाङ निरन्तर २७ वर्ष सांसद हुँदा पनि सात किलोमिटर बाटो पिच नभएको, सुकुम्बासी आयोगको धनीपुर्जा कसैले नपाएको, राँके–रविको बाटोको हालत दयनीय अवस्था भएको, चिसापानी डाँडाबारीको बाटो खराब भएको, नेपालटार–मंगलबारेको बाटो ध्वस्त भएको, जितपुर–जिबीथुम्काको बाटो नबनेकोलगायत सम्पूर्ण बाटोमा कुनैमा पनि पैसा नपरेको विषयलाई कांग्रेसले चुनावी मुद्दा बनाएको छ।
त्यसैले अहिले नेम्वाङ किराँत धर्मगुरुको शरणमा परेका छन् । तर माक्सेबुङवासी नेम्वाङको गुलियो नारामा यसपटक नफस्ने देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।