इलाम – नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले इलाममा राजनीति गरेर देशका पूर्व प्रधानमन्त्री र सभामुख भएका नेताहरूले जिल्लाका लागि केही विकास नगरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध इलामको देउमाई नगरपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको बृहत् र्याली तथा विरोधसभामा नेता खड्काले नेताको नाम जतिसुकै ठूलो भए पनि इलामका जनताका दुःख जनतासँगै रहेका बताए ।
‘स्थिर सरकारको गफ दिने झण्डै दुईतिहाइ बहुमतका प्रधानमन्त्री केपी ओलीका पछि लागेर पूर्व सभामुख सुवास नेम्वाङ र पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामका लागि के गरे ?’ नेता खड्काले प्रश्न गरे ।
कुनै बेला पूर्व प्रधानमन्त्री खनालले इलाममा कांग्रेसलाई खोज्नुपर्ने बनाइदिने चेतावनी दिएको स्मरण गर्दै नेता खड्काले कम्युनिस्टका हर्कतले जनतालाई कांग्रेसलाई साँच्चिकै खोज्नुपर्ने बेला आएको बताए ।
‘हाम्रा यताका नेता, हामीले आशा गरेका थियौं, प्रधानमन्त्री भए, सभामुख भए । उहाँले इलामलाई के दिनुभयो ? इलाममा म नेपाली कांग्रेसलाई खोज्ने बनाइदिन्छु, झलनाथ दाइले भन्नुहुन्थ्यो । उतिबेला होइन कि जस्तो लाग्थ्यो तर अब पत्याइयो,’ नेता खड्काले भने, ‘यो देशमा अब जनताले कांग्रेसलाई खोज्ने भइसके, कांग्रेसले देशमा कहिल्यै फट्याइ गरेको छैन, अधिनायकवाद लाद्न खोजेको छैन, माओवादीलाई शान्ति वार्तामा ल्याएको थियो । अहिले पनि प्रधानमन्त्री जस्ताहरूलाई छातीमा बिल्ला भिराएर हामी यहाँ छौं भन्दै सडकमा पुर्याइएको छ । यस्तो कार्य कांग्रेसले कहिल्यै गरेन ।’
जनताले कांग्रेसलाई खोजीखोजी पार्टी प्रवेश गरिरहेका नेता खड्काले बताए । ‘अब जनताले कांग्रेसलाई खोज्नुपर्छ । नेपाली कांग्रेस अभिभावक हो, कांग्रेस नभई समृद्धि, विकास, कानूनी राज्य हुनेवाला छैन । अब छाती फुलाएर हामी कांग्रेस हौं भनेर गौरव गर्नुपर्छ,’ उनले भने, ‘हामीले विदेशी टाउका झुण्ड्याएका छैनौं, पार्टी फुट्दा पनि विदेशी आएर मिलाइदिनुपर्ने होइनौं हामी ।’
नेपाली कांग्रेसले कानूनी राज्य र लोकतन्त्रको संरक्षणका लागि रातदिन काम गरेको नेता खड्काले बताए । ‘कांग्रेसले कहिल्यै पनि जनतालाई धोका दिएको छैन,’ उनले भने ।
जनतालाई दुःख पर्दा समेत कम्युनिस्ट सरकारले केही नदिएको नेता खड्काले आरोप लगाए । ‘यत्रो कोरोनाको बिगबिगीमा जनताले आशा गरेका थिए, कसले के पायो ?’ उनले सोधे, ‘आज कस्तो सरकार छ ? माथि सुन पक्रियो भने तल जाँदा पित्तल हुन्छ । बलात्कारी पक्राउ गर्यो भने कुखुरा चोर हुन्छ । कोरोनाको बिगबिगीमा पीसीआर जाँच हुँदैन । मरे मर बाँचे बाच भन्छ सरकारले । २००% कर बढाउँछ ।’
कम्युनिस्ट शासनमा बेरोजगारी र भ्रष्टाचार बढेको नेता खड्काले बताएका छन् । ‘बेरोजगारी बढेको छ, किसानले मल ल्याउन पैसा खुवाउनुपर्छ, किसानले मल पाएका छैनन्, कमिसन खुवाउनुपर्छ,’ उनले भने, ‘वडामा भ्रष्टाचार, गाउँमा भ्रष्टाचार, क्षेत्रमा भ्रष्टाचार, देशमा भ्रष्टाचार, भ्रष्टाचारै–भ्रष्टाचार । भ्रष्टाचार गन्हाउँदा एसियाकै नम्बर १ भइसक्यो ।’
चुनावका बेला कम्युनिस्टहरूले जनतामाझ चिल्ला कुरा गर्ने गरेपनि काम केही नगर्ने उनले बताए । ‘यो देशमा कम्युनिस्टले भोट माग्दा भन्नुभयो – पानीजहाज ल्याउँछौं, घरघरमा ग्यासँ पुर्याउँछौं, मेची टु महाकाली रेल ल्याउँछौं, चीनबाट रेल ल्याउँछौं । यी नारा के भो ?’
जनतालाई चिल्ला गफ सुनाएर चुनाव जितेका नेताहरू अहिले आफैं झगडा गर्न थालेका नेता खड्काले बताए । ‘आज आफ्नै नेतालाई यो त कुहिएर झरेको फल हो भनिरहेका छन् । अर्काेले बादरको पुच्छर ३ वर्ष तेल दलेर सिधा भएन भनिराख्नुभएछ । एकले अर्कालाई हिजो छ्याप्दा न रेल आउँछ, न पानीजहाज आउँछ,’ उनले भने ।
जनताले बहुमत दिँदादिँदै पनि काम गर्न नसकेर झगडा गरिरहेका कम्युनिस्टहरू फेरि बहुमतको आश गर्दै जनतामा आउने कुरा गरिरहेकोमा खड्काले आश्चर्य व्यक्ति गरे । ‘फेरि उहाँहरू अब यो देशमा हामी नै बहुमत ल्याउँछौं भनेर तपाईं–हाम्रो गाउँघरमा ढाँट्न, छल्न आइराख्नुभएको छ, हामीले कतिसम्म पत्याउने ?’ उनले सोधे ।
नगर सभापति दिलिप कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति हरि खनाल, शिक्षक संघ प्रदेश १ सभापति पूर्ण गौतम, महिला संघ जिल्ला सदस्य इन्दिरा राउत लगायतले संसद विघटनको विरोधमा विचार व्यक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।