काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले प्रचार-प्रसारलाई तीव्रता दिएका छन्। उनको प्रतिस्पर्धी छन्, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेत।
महेश बस्नेत सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुपर्दा निकै कमजोर अवस्थामा छन्। बस्नेतको र्यालीमा आफ्नै पार्टीका प्रदेशसभा उम्मेदवारसँगै पार्टीकै केही कार्यकर्ता र एमालेको मात्रै झण्डा देखिन्छन् भने थापाको र्यालीमा भने कांग्रेससँगै माओवादी र एकीकृत समाजवादीका झण्डा बाक्लै देखिन्छन्।
भक्तपुर २ मा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (ख) मा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ उठेका छन्। पार्टी अध्यक्ष केपी ओलीसँग निकट रहेका बस्नेतलाई पार्टीभित्रै असन्तुष्ट पक्षले धोका दिनसक्ने डर छ।
एमालेका उम्मेदवार बस्नेत पाँचवर्षे कार्यकालमा आफूले गरेका विकास निर्माणका कामकै कारण मतदाताले आफूलाई दोहोर्याउने दाबी गर्छन्। तर, उनले विगत पाँच वर्षमा आफ्नो व्यक्तिगत स्वार्थबाहेकका काम गर्न नसकेको भन्दै मतदाताहरु पनि बेखसी प्रकट गरिरहेका छन्।
यसअघि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतपरिणाममा पनि भक्तपुर-२ मा कांग्रेस बलियो छ। स्थानीय निर्वाचनको मत परिणाम हेर्दा क्रमशः कांग्रेस, एमाले, नेमकिपा र राप्रपाभन्दा पछि एकीकृत समाजवादी र माओवादी केन्द्रको मत छ।
एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थन थापालाई छ भने नेमकिपा र राप्रपा दुवै दलको आफ्नै उम्मेदवार चुनावी मैदानमा छन्। नेमकिपाबाट अनुराधा थापा मगर पनि चुनावी मैदानमा छन्। भक्तपुर–२ मा राप्रपाका मोहनकुमार केसीले उम्मेदवारी दिएका छन्।
स्थानीय तहको निर्वाचनमा वडामा प्राप्त मतअनुसार कांग्रेस एक्लै एमालेभन्दा अगाडि छ। कांग्रेसले २५ हजार ७६४ मत प्राप्त गर्दा नेकपा एमालेले २४ हजार २८५ मत प्राप्त गरेको थियो। त्यसपछि नेमकिपाले ४ हजार ९२५, राप्रपाले ४ हजार १७२ मत प्राप्त गरेका थिए भने एकीकृत समाजवादीले १२०० भन्दा बढी र माओवादी केन्द्रले एक हजारभन्दा बढी मत प्राप्त गरेका थिए।
स्थानीय चुनावको मतलाई आधार मान्ने हो भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार थापालाई जितका लागि सहज छ। कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने गठबन्धनका दलहरू एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा २ हजार मत थपिने देखिन्छ।
झापा, रूपन्देही र बाँकेमा तालमेल गरेको राप्रपाले भक्तपुरमा साथ नदिँदा महेश निराश त बनेका छन् नै उनी चुनावी नतिजा आफ्नो पक्षमा पार्नसक्ने अवस्थामा छैनन्। जसका कारण उनले ओलीलाई आग्रह गर्दा राप्रपा मिलाइदिन हार-गुहार गरिरहेका छन्। उनका लागि पार्टीको आन्तरिक असन्तुष्टि मिलाउनै सकस भइरहेको समयमा राप्रपा मिलाउन त्यति सहज भने छैन। राप्रपा मिले पनि पार्टीको आन्तरिक असन्तुष्टि भने बढ्दै गएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।