काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै व्यंग्य प्रहार गरेका छन् ।
बस्नेतले बुधवार फेसबुकमा धारणा राख्दै विघटित प्रतिनिधि सभाका नेकपाका सीमित पूर्व सासंदको संसदीय दलको नेता बनेको भन्दै प्रचण्डलाई बधाई दिएका छन् ।
नेता बस्नेतले प्रचण्ड भित्ते राष्ट्रपति बनेको विगत पनि कोट्याएका छन् ।
‘नेपालमा छलाङ, धक्का, क्रमभङ्ग, महाविपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क. प्रचण्डको २०६४ सालको चुनाव अगाडि भावी कार्यकारी राष्ट्रपति भनेर खुब वाल पेन्ट गराइयो फोटो टाँसियो,’ बस्नेतले लेखेका छन्, ‘संविधान निर्माण गर्दा उहाँले त्यो अडान छोड्नुभयो । अनि उहाँहरूले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय व्यवस्थामा सम्झौता गर्नुभयो । अनि त्यो सबै नाटक सावित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो ।’
नेता बस्नेतले प्रचण्ड नेकपाको सीमित पूर्व सासंदहरूको संसदीय दलको नेता बनेकाले भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै बधाई भनेर व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क. प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ । हार्दिक बधाई छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आईतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते २ चरणमा निर्वाचन मिति घोषणा भएपछि नेकपाभित्र विवाद बढेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । ओली समूहले भने पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको छ । बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।
प्रचण्ड–माधव समूहले पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारवाही गरेर नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको प्रतिनिधि सभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधि सभाको नियमित कार्य अघि बढाउन समेत माग गर्दै आएका छन् ।
नेकपा २ पक्षमा विभाजित हुँदा कतिपय नेताको कित्ता पनि फेरिएको छ । २ चिरामा विभाजित नेकपाका दुबै समूहले संस्थापन र वैधानिक भएको दाबी गरेका छन् । संस्थापनको मान्यता पाउने पक्षले चुनाव चिह्न सूर्य पनि पाउने भएकाले दुबै पक्षले आधिकारिताका लागि जोडबल गरेका छन् ।
निर्वाचन आयोगले नै कसलाई नेकपाको आधिकारिकता दिने भन्ने विवादको निरूपण गर्नुपर्ने अवस्था आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।