काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष एकअर्काविरुद्ध खुलेरै बोल्न थालेका छन् ।
केही दिनअघि प्रचण्डको नेतृत्वमा भएको आन्दोलनमा ‘केपी चोर देश छोड्’ भन्ने नारा लागेका थिए भने आज शनिबार ओली निकट नेता तथा पूर्व महेश बस्नेतले प्रचण्डलाई धम्की दिएका छन् ।
केही दिनअघि अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायत नेताहरूले बल्खुस्थित पूर्व एमालेको कार्यालय अवलोकन गरेपछि नेता बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् ।
ललितपुर क्षेत्र नम्बर १ मा शनिवार भएको ओलीपक्षीय नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै बस्नेतले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर–पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने धम्की दिएका छन् ।
‘बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना लगाएर बनाएको पार्टी कार्यालय ललितपुरमा आँखा नलगाउनुस्, देशभरका सम्पर्क कार्यालयमा आँखा नलगाउनुस्, हामी पेरिसडाँडामा पनि आँखा लगाउँदैनौं । हाम्रो कार्यालयमा आँखा लगाउनुभयो भने हामी पनि आँखा लगाउँछौं । पेरिसडाँडा कब्जा गर्नसक्छौं,’ उनले भने ।
नेता बस्नेतले पार्टीको निर्वाचन चिह्न सूर्यमा आँखा नलगाउन पनि चेतावनी दिएका छन् । प्रचण्डको चुनाव चिह्न हँसिया हतौडा भएकाले माधव नेपाल र झलनाथ खनाललाई सोही चिह्नमा चुनाव लड्न भन्दै सूर्य चिह्न केपी ओलीको रहेको दाबी गरे ।
‘अब सूर्य चिह्नतिर आँखा नलगाउनुस् तपाईको कुनै अधिकार छैन,’ उनले भने ।
ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दाबी गर्दै नेता बस्नेतले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने दाबी गरेका छन् । ललितपुरको ओली पक्षको कार्यकर्ता भेलालाई महेश बस्नेत अघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गरेका थिए ।
पार्टी फुटेपछि ओली पक्षले देशभर विभिन्न ठाउँमा भेला र कार्यक्रम गरेर संगठन मजबुत बनाइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।