काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गरेका छन् । बिहीबार मतदातालाई अपिल जारी गर्दै उनले काठमाडौं ५ मा आफ्नो उम्मेदवारीले यो निर्वाचन क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरे ।
उनले अपिलमा भनेका छन्, ‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवस्यक छ । पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी, राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिरासा छाएको छ । म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु ।’ उनले आफूलाई प्राप्त भएको अवसर खेल नफाल्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले अपिलमा भने, ‘परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृतिको स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ । मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यवसाय फस्टाउँछ भनेर राजनीतिमा हामफालेको होइन । राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ ।’
उनले क्षेत्र नम्बर ५ का मतदाताहरुले खोजेको बेला भेटिने छोरो, भाइ, दाइ, साथी र जनप्रतिनिधिको रुपमा आफु सधै सँगै उभिने बाचा गरे । उनले भने, ‘नेतृत्वले चाहने हो भने के के सम्भव छ भन्ने कुरा म स्थापित गर्न चाहन्छु । आगामी पाँच वर्षको यो अवसरलाई म किमार्थ खेर जान दिने छैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।