काठमाडौं । सिट बाँडफाँटका सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक औपचारिकतामा सीमित भएको छ । अघिल्लो बैठकले शीर्ष नेताहरुसँग परामर्श गरेर प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।
तर यो अवधिमा सिटौलाले सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग भेट गरेनन् । त्यही कारण बुधबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरु सामान्य छलफल गरेर उठेका छन् ।
कार्यदलका एक सदस्यका अनुसार अब संयोजक सिटौलाले शीर्ष नेताहरुसँग भेट गर्ने, आवश्यक परे संयुक्त रुपमा पनि छलफल गर्ने सहमति भएको छ । संयुक्त बैठक औपचारिकतामा मात्र सीमिति भएकाले दलहरुबीचमा पनि छलफल गरेर एकअर्काका अप्ठ्यारो बुझ्ने पनि सहमति भएको छ ।
बैठकपछि कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि अहिलेसम्म भएको छलफलबारे नेताहरुलाई जानकारी गराउने र एउटा निर्णयमा पुग्ने बताए । उनले भने, ‘मोडालिटीमा छलफल गरेका छौं र त्यसलाई केन्द्रमा राखेर सिट विभाजनको एउटा निष्कर्षको चरणमा अगाडि बढ्दैछौं ।’
कार्यदलको अर्को बैठक समेत अनिश्चित बनेको रहेको कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए । ‘आजको बैठकमा कुनै प्रगति हुन सकेन । अर्को बैठक बोलाउने जिम्मेवारी संयोजकलाई दिएका छौं’, पुरीले भने, ‘मोडालिटी तयार गर्ने जिम्मेवारी लिनुभएका कृष्णप्रसाद सिटौलाले कुनै प्रस्ताव ल्याउनुभएन । प्रस्ताव नै नभएपछि छलफल गरिरहनुपरेन ।’
बैठकले संयोजक सिटौलालाई सत्ताघटकका शीर्ष नेताहरुसँग कुरा गर्न समेत जिम्मेवारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।