काठमाडौं । मंसिर ४ मा देशभरबाट उम्मेदवार उठाउने घोषणा गर्दै ‘वृहत् स्वतन्त्र राष्ट्रिय अभियान’ ले चुनाव चिन्हको रूपमा ‘लौरो’ सार्वजनिक गरेको छ ।
आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरूले चुनाव चिन्ह सार्वजनिक गर्दै अभियानबारे जानकारी गराएका हुन् ।
‘एक्लाएक्लै होइन, सँगसँगै हिँडौं भन्ने भावना, सुस्पष्ट विचार र कार्यक्रमका साथ नयाँ दल, व्यक्तिहरू र अभियानहरूलाई समेटेर एउटै चुनाव चिन्ह लौरोलाई वृद्धवृद्धाहरूले सहाराको रूपमा टेक्ने र भ्रष्टाचारीलाई सेक्ने वैचारिक र कार्यक्रमिक रूपमा अघि बढ्न हामी सबैमा आह्वान गर्दछौँ,’ कार्यक्रममा वितरित विज्ञप्तिमा भनिएको छ ।
पुराना राजनीतिक दल र विचारका व्यक्तिहरू समेत सबैको एउटै राजनीतिक सिद्धान्त रहेको र त्यो ‘हरेक पटकको चुनावमा सकेसम्म धेरैभन्दा धेरै रकम खर्च गर्ने र चुनावपछि खर्च असूलउपर गर्ने’ रहेको उनीहरूले टिप्पणी गरेका छ्न् ।
‘राजनीतिका नाममा भइरहेको त्यही अराजनीतिक व्यापार नै राज्य संयन्त्रका सबै तहमा हुने भ्रष्टाचारका कारण हो,’ विज्ञप्तिमा उल्लेख छ,‘हालसम्म जेलाई राजनीति भनिएको छ त्यो राजनीति होइन अवैध व्यापार हो ।
पुरानो राजनीति नाममा भइरहेको त्यो अवैध व्यापारका कारण झाँगिएको विकृत संसदीय व्यवस्था, खर्चिलो र बोझिलो संघीयता, राजनीतिकृत न्यायालय तथा कर्मचारीतन्त्रको जर्जर अवस्थाबाट नागरिकले मुक्ति पाउनका लागि व्यक्ति मात्र होइन व्यवस्थामा पनि व्यापक सुधारको खाँचो रहेको सो पत्रमा उल्लेख छ ।
‘त्यसका लागि नयाँ दल र अभियानहरू समेत एकजुट बनेर जनताका वाचा आउन् भन्ने सम्पूर्ण जनताको शुभेच्छा भएकोले हामी एकजुट हुनु जरुरी छ,’ उनीहरूले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।