काठमाडौं । काठमाडौंभित्र थुप्रिएको फोहोरलाई लिएर महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको छ । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत भए । फोहोरको समस्याको सबै दोष उनीहरुले साहमाथि थोपर्ने प्रयास गरेका थिए ।
आजको बैठकको सुरुवातमा साहले छलफलका लागि १३ वटा प्रस्ताव अघि सारेका थिए । तर, वडाध्यक्षहरुले भने फोहोर व्यवस्थापनबाहेक अरु विषयमा छलफल नै नगर्ने अडान लिए । उनीहरुले भोलिदेखि जात्रा सुरु हुने भएकाले फोहोरको समस्या भयावह बनेको बताए । यस क्रममा केही वडाध्यक्षले मेयर साहको आलोचना गरेका थिए ।
त्यसपछि मेयर साहले फोहोर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे व्रिफिङ गरे । तीन दिनअघिसम्म दैनिक २०० देखि ३०० टिपसम्म फोहोर गइरहेको तर, अस्ति राति गाडी तोडफोड भएपछि फोहोर फाल्ने क्रम रोकिएको बताए । यस विषयमा हिजो सहरी विकास मन्त्रालयमा बैठक बसेको भन्दै उनले भोलिबाट फोहोर उठ्नेमा आश्वस्त तुल्याउन खोजे । तर, वडाध्यक्षहरुले चित्त बुझाएनन् ।
एक वडाध्यक्षले भोलिबाट दुई दिन काठमाडौंमा जात्रा हुने भएकाले रातारात भए पनि सडकमा थुप्रिएको फोहोर उठाउनुपर्ने बताए । उनले भने, ‘हामी पनि खट्नु परे खटौंला । तर, जसरी पनि गाइजात्रा हुने कोर एरियाको फोहोर क्लियर गर्नुपर्यो । होइन भने जनताले हामीलाई गाली गर्छन् ।’
काठमाडौं–७ का वडाध्यक्ष विमल होडा मेयर साहप्रति आक्रोशित शैलीमा पेश भए । उनले फोहोर व्यवस्थापनका लागि बनेको कार्यदलको बैठक कतिपटक बस्यो भन्ने जानकारी दिन मेयर साहसँग माग गरे ।
त्यसपछि उपमेयर सुनिता डंगोलले मुख खोलिन् । उनले वडाध्यक्ष र मेयरको बीचमा बसेर मध्यमार्गी विचार राखिन् ।
अन्तिममा मेयर साहले फोहोर व्यवस्थापन समितिमै थप छलफल हुने गरी वैठक टुंग्याए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।