काठमाडौं - बागमती मुख्यमन्त्री राजेन्द्र पाण्डे अहिलेदेखि नै निर्वाचन अभियानमा लागेका छन् । नेपाली कांग्रेससँग आधा आधा कार्यकाल सत्ता बाँड्ने सहमति गरेर मुख्यमन्त्री बनेका पाण्डे अहिले राजीनामा दिन मानिरहेका छैनन् ।
बरु उनले एमालेसँग छलफल चलाएर कुर्सी जोगाउने रणनीति अख्तियार गरेका छन् । जुन केही समयपछि उनकै लागि भारी पर्ने निश्चित छ । उनै पाण्डे अहिले राज्यकोषको ढुकुटी रित्याउने अभियानमा लागेका छन् ।
हालै उनले धादिङका २७ पत्रकारलाई ल्यापटप बाँडेका छन् । आफ्नो पक्षमा समाचार प्रवाहित होस् भन्ने भित्री चाहनाअनुसार उनले मुख्यमन्त्री विशेष कार्यक्रमअन्तर्गत सञ्चारकर्मीलाई ल्यापटप उपहार दिएका हुन् ।
२७ पत्रकारलाई एक लाखको दरले ल्यापटप खरिद गर्दा पनि २७ लाख रुपैयाँ राज्यकोषको रकम रित्तिएको छ । ल्यापटप पाउने पत्रकारमा नवराज छतकुली, डा.मुरारी अधिकारी, सरिता श्रेष्ठ, शंकर श्रेष्ठ, शिव लम्साल, राजेन्द्रकुमार बस्नेत, विकास रौनियार, गोपा थापा, राजाराम शर्मा, पोषनाथ अधिकारी, सानुबाबु तिमल्सिना, राजन अधिकारी, राजकुमार ढुंगाना, अर्जुनकुमार श्रेष्ठ, मनिष दुवाडी, नारायण सिलवाल, सुनिता सिंखडा, रेखबहादुर गुरुङ, शिवप्रसाद देवकोटा, रामबहादुर ठकुरी, बद्रि अधिकारी, उपेन्द्र अधिकारी, कमल तामाङ, उत्तम अधिकारी, दामोदर अर्याल, ठाकुर बुर्लाकोटी र विवेक अर्याल छन् । बागमती प्रदेशमा अहिले बेरुजु उच्च छ । प्रदेशमा सवा दुई अर्बभन्दा बढी बेरुजु छ ।
अघिल्लो डोरमणि पौडेलको सरकारमा पनि मनपरी आर्थिक सहायता बाँड्ने गरिएको थियो । कतिसम्म भने बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीले दुई वर्षअघि २०७७ साउन २६ गते सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोबाट प्रभावित परिवारलाई एक लाखको राहत सामान बाँड्न १२ चोटि उडान गर्दै २८ लाखभन्दा बढी हेलिकोप्टर भाडा भुक्तानी गरेका थिए । त्यही भएर बागमती प्रदेशमा कम्युनिस्ट सरकारबाट जनता आजित भइसकेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।