काठमाडौं - विभिन्न जालझेल र तिकडम अपनाएर भए पनि एमाले प्रदेश १ र बागमती प्रदेशको सरकारको आयु लम्ब्याउन सफल भएको छ । दुवै प्रदेशमा एमाले स्पष्ट अल्पमतमा छ । तर, पनि सरकारको नेतृत्व छाड्न तयार देखिएको छैन ।
तर दशैंपछि भने एमालेका मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई जसरी भए पनि हटाउने सहमति सत्तारुढ गठबन्धन दलमा भएको छ ।
गठबन्धनको सहमतिअनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई–दुईवटा प्रदेश र जसपाले एउटा प्रदेश सरकारको नेतृत्व पाउनेछन् ।
प्रदेश २ मा अहिले पनि जसपाकै लालबाबु राउत मुख्यमन्त्री छन्, जुन यसपछि पनि कायम रहनेछ । कांग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने अन्य तीनवटा प्रदेशमा माओवादी केन्द्रको नेतृत्व छ ।
त्यसैले सहमतिअनुसार तीनवटा प्रदेशमध्ये माओवादी केन्द्रले एउटा प्रदेशको नेतृत्व छाड्नुपर्ने हुन्छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व भर्खरै मात्रै परिवर्तन भएकाले सुदूरपश्चिम वा कर्णाली प्रदेशको नेतृत्व माओवादी केन्द्रले छोड्नुपर्नेछ ।
माओवादी केन्द्रले छाडेको प्रदेशमा कांग्रेसले नेतृत्व गर्नेछ । कर्णाली प्रदेशमा भने यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नै आधा–आधा कार्यकाल सरकार चलाउने भद्र सहमति भएको थियो । त्यसैको आधारमा कर्णाली प्रदेश सरकार परिवर्तन हुने सम्भावना पनि छ ।
तर कर्णालीमा माओवादी केन्द्रका प्रभावशाली नेता शाहीलाई मुख्यमन्त्रीमै राखेर सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई सत्ताको नेतृत्व दिने र बागमती प्रदेशमा कांग्रेसका युवा नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने गृहकार्य पनि चलिरहेको छ ।
प्रदेश १ र सुदूरपश्चिममा एकीकृत समाजवादी, कर्णाली र लुम्बिनीमा माओवादी केन्द्र र गण्डकी तथा बागमतीमा कांग्रेस नेतृत्वको सरकार बनाउने प्रयास जारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।