काठमाडौं । काठमाडौं महानगरपालिकका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटले आफूलाई ऊर्जावान बनाएको बताएका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटेका प्रमुख शाहले काठमाडौंको मेयरमा शपथ लिनुअघि ओलीसँग भेट गरेका थिए।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले चुनावमा चमत्कार गरेको भन्दै बालेनलाई बधाई दिएका थिए। यसका साथै उनले महानगरलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
‘केहीअघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ। आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ। भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ,’ उनले फेसबुकमा लेखेका छन्।
यस्तो छ बालेनको फेसबुक स्टाटस
हाम्रो लक्ष्यहरु विशाल र पवित्र छन्। आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ। यसका लागि सबैसँग सहकार्य अनिवार्य छ। राजनैतिकरुपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै रहदैन। स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समुह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ।
काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ। यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ।
यसैक्रममा केहि अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ ।आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ। भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।