काठमाडौं - यसपटक स्वतन्त्र उम्मेदवारले दबदबा कायम गरेका छन् । विगतका निर्वाचनमा एकाध वडाध्यक्ष र स्थानीय तहको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी हुन्थे ।
तर यसपटक महानगरसहित उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूले प्रमुख दल नेपाली कांग्रेस, एमालेलाई हायल कायल बनाएका छन् ।
झन्डै एक दर्जन नगरपालिका र गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले जित हासिल गरिसकेका छन् । काठमाडौं महानगरपालिकामा बालेन साह, धरान उपमहानगरमा हर्कराज राई, धनगढी उपमहानगरमा गोपाल हमाल, जनकपुर उपमहानगरमा मनोजकुमार साह, बद्रिवास नगरपालिकामा प्रह्लाद क्षेत्रीको उदय राजनीतिक दलहरूप्रति असन्तोषको अभिव्यक्ति हो ।
बद्रिवास नगरपालिकामा क्षेत्री र धनगढी उपमहानगरपालिकामा गोपाल हमालले जित हासिल गरिसकेका छन् । काठमाडौं, धरान र जनकपुरमा मतगणना जारी छ ।
तीनैजना उम्मेदवारले प्रमुख दलका उम्मेदवारलाई पछाडि पारेका छन् । अहिलेकै जसरी स्वतन्त्र उम्मेदवारले दबदबा कायम गरे आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन दलहरूका लागि महँगो पर्ने निश्चित छ ।
दलहरूमा देखिएको दम्भ र अहंकारकै कारण अहिले जतातता स्वतन्त्रको दबदबा कायम देखिएको हो । यदि आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेन, हर्कराज, गोपाल हमाल जस्ता अनुहार स्वतन्त्र रूपमा अघि सरे भने दलहरूका लागि ठूलो चुनौती बन्ने देखिन्छ ।
दलहरूले बालेन, हर्कराज, मनोज, गोपाल हमाल, प्रह्लाद क्षेत्रीले आँधीसरह मत ल्याउलान् भन्ने अनुमान गरेकै थिएनन् । तर, जनताले उनीहरूलाई मन पराएको देखियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।