काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । बुद्ध जयन्तीको अवसर पारेर उनी नयाँ दिल्लीबाट सिधै गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका हुन् ।
भारतीय समकक्षी मोदीलाई स्वागत गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सोमबारै लुम्बिनी जाँदैछन् । आजै प्रधानमन्त्री देउवा र मोदीबीच उच्चस्तरीय भेटवार्ता हुँदैछ । उनी साँझ लुम्बिनीबाटै स्वदेश फिर्ता हुनेछन् ।
मोदी प्रधानमन्त्री भएयता पाँचौंपटक नेपाल आउन लागेका हुन् । सोमबार लुम्बिनीमा हुने मोदीको भ्रमणले लुम्बिनीको पर्यटन क्षेत्रमा सुधार आउने अनुमानका कारण पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।
लामो समय कोरोनाले थलिएको लुम्बिनीको पर्यटन व्यवसायलाई मोदीको भ्रमणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको भनाइ छ ।
बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको गौतम बुद्धको जन्मस्थलमा भारतीय प्रधानमन्त्रीको आगमनले भारतीय हिन्दू धर्मावलम्बीहरूका लागि पनि एकपटक लुम्बिनी पुग्नैपर्ने स्थानका रूपमा परिचित हुने पर्यटन व्यवसायीहरूको भनाइ छ ।
यसअगाडि भारतीय प्रधानमन्त्रीको भ्रमण भएको स्थान मुक्तिनाथ र जनकपुरको अवस्थालाई हेर्दा भारतीयहरूले एकपटक पुग्नैपर्ने स्थानका रूपमा लिने भएका कारण लुम्बिनीका भारतीय प्रधानमन्त्रीको भ्रमणपछि पर्यटकहरू बढ्ने आशा राखेको लुम्बिनी होटेल संघका महासचिव पुरुषोत्तम सुवेदीको भनाइ छ ।
लुम्बिनीमा वार्षिक १८ लाखभन्दा बढी पर्यटक आगमन हुने तथ्यांक छ । लुम्बिनीमा एक सय एक मुलुकका पर्यटक आउने गरेको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ ।
वार्षिक १८ लाख पर्यटकमध्ये तीन लाख ५० हजार पर्यटक तेस्रो मुलुकका रहेका छन् भने बाँकी आन्तरिक र भारतीय हुन् । लुम्बिनीमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गर्छन् । तर, यकिन तथ्यांक भने छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।