काठमाडौं - बागी उम्मेदवारलाई फकाउन चितवन पुगेका दुई मन्त्री काठमाडौं फर्किएका छन् । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका हुन् ।
दुवै जना शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् । बागी उम्मेदवारलाई फकाउन गृहमन्त्री खाँण १४ वैशाखमा चितवन गएका थिए । बिहीबार दिनभर उनलाई मनाउन अनेकन प्रयास गरेका थिए ।
तर, पौडेलले आफू निकै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नहुने अडान कायम राखेका थिए । घरमै पुगेर फकाउने प्रयास गरेका गृहमन्त्री खाँडलाई बागी उम्मेदवार पौडेलले आफु पछि नहट्ने बताएका थिए ।
पौडेललाई फकाउन गृहमन्त्री खाँणसँगै राज्यमन्त्री श्रेष्ठ पनि घरमै पुगेका थिए । बिहीबार बिहान र राति गरेर दुईपटक छलफल गरे पनि उनी उम्मेदवारी फिर्ता लिन तयार भएनन् । त्यो बीचमा उनीहरूले विभिन्न अफरसमेत गरेका थिए ।
प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उनलाई गरेका थिए । उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए ।
तर, आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो । केही दिन अगाडि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका थिए ।
उनले कांग्रेस नेताहरूलाई भेटेर बागी उम्मेदवारी फिर्ता लिन लगाएका थिए । भरतपुरबाट प्रचण्ड छोरी रेणु दाहालले मेयरमा उम्मेदवारी दिएकी छिन्।
यदि पौडेलले उम्मेदवारी फिर्ता नलिएको खण्डमा रेणुलाई जित्न मुस्किल पर्ने देखिन्छ । जसले गर्दा प्रचण्डको दबाबमा पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रयत्न गरिरहेका हुन् । उनले पार्टीले अनुशासनका कारवाही गरे भोग्न तयार रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।