काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
सत्ता साझेदार दलहरुको मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् ।
माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ छन् । वर्षमान एमाले त्यसमा पनि केपी ओलीसँग निकै निकट छन् ।
उनी एमालेविरुद्ध पाँचदलीय गठबन्धन बनाएर जान नहुने पक्षमा रहँदै आएका छन् । तर, तिनै नेतालाई समितिमा राखिएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।
यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो ।
आजको बैठकमा सत्ता साझेदार दलका शीर्षनेताहरु प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू सहभागी थिए ।
सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो तीनदिने भारत भ्रमणको जानकारी पनि गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।