काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउनुअघि विभिन्न कम्युनिस्ट नेताहरूले चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे कडा आपत्ति जनाउने भनेर ठाउँ कुठाउँ भाषण गरे ।
यतिबेला चिनियाँ विदेशमन्त्री नेपालमै छन् । तर, अहिलेसम्म उनले एमसीसीबारे कसैसँग एक शब्द पनि बोलेनन् । वाङ यीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई भेटिसकेका छन् ।
आज उनी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अपराह्न स्वदेश फर्कंदैछन् । तर, चीनले एमसीसीबारे एक शब्द पनि नबोलेपछि कम्युनिस्ट नेताहरू मुर्मुरिएका छन् ।
उनीहरूले जनतालाई भ्रम छर्दै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरेको यो घटनाले पनि पुष्टि गरेको छ । नेपालले अमेरिकी अनुदान सम्झौता मिलेनिअम च्यालेन्ज कर्पोरेसनको संसद्बाट अनुमोदन गर्ने क्रममा बेइजिङ र वाशिङ्टन डीसीबाट प्रकट भएका चासोहरू सेलाउन नपाउँदै वाङ यी नेपाल आइपुगेका हुन्।
बरु विदेशमन्त्री वाङले चीनले नेपाललाई स्वतन्त्र घरेलु र विदेश नीति सञ्चालनका लागि समर्थन गर्ने बताएका छन्। उनले भनेका छन्, ‘चीनले नेपालको मामिला नेपाली नागरिकहरू स्वयंले निर्णय गर्नुपर्छ भन्ने विश्वास राख्छ। चीनले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता अवमूल्यन गर्ने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालमा भूराजनीतिक चलखेलमा संलग्न हुने प्रयासको विरोध गर्छ।’
चिनियाँ विदेशमन्त्रालयका अनुसार विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय वा दुई देशको घरेलु अवस्थामा जस्तोसुकै परिवर्तन आए पनि चीनले दुई देशका नेताहरूले तय गरेको मार्गचित्रलाई समर्थन गर्ने र नेपालप्रति मित्रवत् नीतिहरूलाई अडिग भएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।
यसबाहेक नेपाल र चीनको साझा भविष्य निर्माण गर्ने दिशामा दुवै देशलाई लाभ हुने सहकार्यमा पनि प्रतिवद्ध भएर चीन अघि बढ्ने सन्देश दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।