काठमाडौं - चार महिनाभन्दा बढी समय सिंगापुर र चीनमा उपचार गरेर माओवादी केन्द्रका नेता वर्षमान पुन आज राति स्वदेश फर्किंदैछन् । दुर्लभ जन्डिस रोगबाट पीडित पुनको अवस्था अहिले सामान्य हुँदै गएको परिवारले जनाएको छ ।
कुनै पनि व्यक्तिले रोगबाट मुक्ति पाउनु राम्रै कुरा हो । त्यसमा पनि पुन माओवादी केन्द्रका भविष्य बोकेका नेता र पूर्वमन्त्री पनि हुन् । उनी स्वस्थ भएर नेपाल फर्किंदै गर्दा अहिले नेता पुन चर्चामा आएका छन् ।
उनी चर्चामा आउनुको कारण भने चार्टर्ड फ्लाइट रहेको छ । नेता पुन हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट सोमबार राति नेपाल आउँदैछन् । चीनबाट चार्टर्ड फ्लाइट लिएर नेपाल आउँदा झन्डै पौने दुई करोड लाग्छ ।
चार्टर्ड विमानमार्फत नेपाल आउन लागेको चर्चा चलेपछि उनको चर्को आलोचना भएको छ । पुनको आर्थिक हैसियत के हो भन्दै सर्वसाधारण जनताले प्रश्न उठाउन थालेका छन् ।
उनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । सिंगापुरमा उपचार हुन नसकेपछि उनलाई चीन ल्याइएको थियो । हालसम्म उनको उपचारमा कति खर्च भयो भन्ने बाहिर आएको छैन ।
सर्वहारा भनिने नेताको विलासी जीवन र करोडभन्दा बढी उपचार खर्च तथा चार्टर्ड फ्लाइटमा नेपाल आउने चर्चाले वर्षमान पुन माओवादीका अर्बपति नेता रहेको अनुमान गर्न थालिएको छ ।
उनी नेपाल आउने मिति तय भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ २७ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । जुन बैठकले माओवादी केन्द्रको पदाधिकारी निर्वाचित गर्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।