काठमाडौं - माओवादी केन्द्रको आठौं महाधिवेशन पाँच दिनदेखि काठमाडौंमा जारी छ । अहिलेसम्म बन्दसत्र पनि सकिएको छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल नसकिएकाले महाधिवेशन अझै दुई दिन लम्बिने भएको छ ।
दुई दिन महाधिवेशन लम्बिँदा माओवादीलाई एक करोडभन्दा बढी व्ययभार थपिएको छ । महाधिवेशन लम्बिँदै गए पनि एक नेताका कारण कर्मकाण्डी मात्र सावित हुने देखिएको छ । ती नेता हुन् वर्षमान पुन । पुन अहिले चीनमा छन् ।
गम्भीर स्वास्थ्य समस्या कारण उनको चीनमा उपचार भइरहेको छ । उनी तत्काल नआउने भएकाले पनि माओवादीको महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्यबाहेक अरु पदाधिकारी छनोट नगर्ने भएको छ । वर्षमान पुन महासचिवका प्रबल दाबेदार हुन् ।
माओवादीमा वर्षमानको पकड बलियो छ । यदि उनी असन्तुष्ट भएमा मात्रै पनि माओवादी केन्द्रको संगठन ध्वस्त् हुन्छ । त्यही भएर प्रचण्डले पनि बोल्ड डिसिजन लिन सकेका छैनन् ।
माओवादी केन्द्रमा अध्यक्षबाहेकका पदमा आकांक्षीको संख्या धेरै छ । प्रचण्डलाई सबैलाई रिझाएर पदीय व्यवस्थापन गर्नका लागि निकै ठूलो चुनौती छ ।
माओवादी केन्द्रको विधानअनुसार महाधिवेशन हलबाट अहिले प्लेन कमिटी मात्रै बन्नेछ । अर्थात् महाधिवेशन हलले केन्द्रीय सदस्य मात्रै टुंग्याउने छ र देशभरबाट आएका प्रतिनिधि पर्यवेक्षकलाई घरघर पठाउने छ ।
यसरी टुंगिएपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रको अध्यक्षमा प्रचण्डलाई एक मतले घोषित गर्नेछ । माओवादी केन्द्रका एक नेताका अनुसार अध्यक्षमा प्रचण्ड सर्वसम्मत भए पनि बाँकी पदमा भने विवाद हुनेछ ।
विवाद भए पनि माओवादी केन्द्रको विधानअनुसार निर्वाचन विधिबाट पदाधिकारी टुंगो लगाउनु पर्ने हुन्छ । २९९ सदस्यीय केन्द्रीय कमिटीले १५ पदस्यीय पदाधिकारीलाई निर्वाचित गर्नेछ ।
माओवादी केन्द्रका विभिन्न जनवर्गीय संगठनहरु वाइसीएल नेपाल, अखिल क्रान्तिकारी र प्रेस संगठन नेपालमा पनि अध्यक्षबाहेक अन्य पदाधिकारी टुंग्याउन सकेको थिएन ।
यस्तै, माओवादी केन्द्रका ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० वटा प्रदेश संरचनामध्ये दुईवटा प्रदेशमा निर्वाचनकै माध्यमबाट पदाधिकारी टुंगो लगाइएको थियो ।
माओवादी केन्द्रका प्रदेश संरचना र जनवर्गिय संगठनहरुले सुरुमा सम्मेलनबाट कति सदस्य हुने भनेर संख्या र सदस्यको टुंगो मात्रै लगाएको थियो ।
माओवादी केन्द्रको पनि अहिले देशभरबाट आएका प्रतिनिधिले मतदान गरिहाल्ने अवस्था नभएको र सहमति गर्न पनि चुनौती रहेकाले अध्यक्ष र केन्द्रीय सदस्यको नाम मात्रै तोकेर सम्मेलन सकिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।