काठमाडौं - पूर्वपञ्चहरूको पार्टी राप्रपाको एकता महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । काठमाडौंमा जारी महाधिवेशनमा राप्रपामा दुई प्यानल निर्वाचनमा उत्रिएका छन् ।
राप्रपाको सर्वेसर्वा अध्यक्ष बन्दै आएका कमल थापालाई झापाका राजेन्द्र लिङ्देनले चुनौती दिएपछि देशको राजनीतिमा भूमिका शून्यप्रायः भएको राप्रपाको महाधिवेशनबारे सर्वत्र चासो देखिएको छ ।
त्यसमा पनि अभिनेत्री रेखा थापा, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, विक्रम पाण्डेलगायतका युवाहरू लिङ्देनको प्यानलबाट निर्वाचनमा होमिएपछि राप्रपाको नयाँ नेतृत्व कस्तो आउँछ भनेर सबैतिर उत्सुकता देखिएको छ ।
अहिले सबैको ध्यान अभिनेत्री रेखा थापातिर केन्द्रित भएको छ । सिनेमा खेल्दाखेल्दै राप्रपाको राजनीतिमा एक्कासि सक्रिय भएर महामन्त्री पदमा उम्मेदवारी दिएपछि उनको चर्चा चुलिएको हो । राप्रपामा फिल्म निर्माता एवं गोपीकृष्ण हल सञ्चालक उद्धव पौड्याल पनि पदाधिकारीमै छन् ।
उनी राप्रपाको कोषाध्यक्ष पनि हुन् । तर, रेखाले उनलाई समेत छायाँमा पारिदिएकी छन् । नेपाली कलाकारले कुनै पार्टीको केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिएको यो नै पहिलो हो । हुन त थुपै्र कलाकार विभिन्न पार्टीमा सक्रिय नभएका होइनन् ।
तर, रेखाले जस्तो एकैपटक पदाधिकारीमा उम्मेदवारी दिने आँट कसैले गरेनन् । तत्कालका लागि भन्दा पनि दीर्घकालीन फाइदा हुने देखेर राप्रपाको राजनीतिमा रेखा होमिएको प्रस्टै छ । राप्रपामा सर्वसम्मत नेतृत्व चयन भएको भए रेखाको कतै पनि चर्चा हुँदैनथ्यो ।
उनी त्यही केन्द्रीय सदस्य पदमै सीमित हुन्थिन् । तर, कमल थापा र राजेन्द्र लिङ्देनको छुट्टाछुट्टै प्यानल बनेपछि रेखालाई खुदो पल्टिएको छ । रेखाले राप्रपाकी चर्चित नेतृ कुन्ति शाहीसँग महामन्त्रीमा प्रतिस्पर्धा गर्दैछिन् । शाही सुरुदेखि नै थापाले च्यापेर यहाँसम्म ल्याइदिएका हुन् ।
कतिसम्म भने कमल थापाकै आशीर्वादमा शाही केन्द्रीय राज्यमन्त्रीसमेत भइसकेकी छन् । यदि शाहीलाई महामन्त्रीमा पराजित गरेमा रेखाको सांसद हुँदै मन्त्रीसम्म बन्ने बाटो क्लियर हुनेछ ।
राप्रपाले आगामी निर्वाचनमा समानुपातिकमा दुई–चार सिट भए पनि अवश्य ल्याउने छ । त्यसबेला सांसद कसलाई बनाउने भन्ने पार्टी पदाधिकारीले निर्णय गर्नेछ ।
अहिलेको माहोल हेर्दा लिङ्देनले अध्यक्षमा जित्ने प्रबल सम्भावना रहेको बताइन्छ । त्यसैले आगामी निर्वाचनमा राप्रपाले समानुपातिकमा दुई चार सांसद पायो भने रेखाले बाजी नमार्लिन् भन्ने छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।