काठमाडौं - नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ ।
बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । सातमध्ये प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन नै भएका छैनन् । प्रदेश २ मा क्षेत्रीय अधिवेशनसमेत हुन सकेको छैन । शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ ।
कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा जिल्ला अधिवेशन हुन सकेको छैन । १६ जिल्लामध्ये सात जिल्लाका केही प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन पनि भएको छैन ।
जसकारण ती निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधि १४औं महाधिवेशनमा भाग लिनबाट वञ्चित हुनेछन् । प्रदेश २ मा जिल्ला अधिवेशन नहुँदा सबैभन्दा बढी धक्का कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई लाग्ने भएको छ ।
निधिले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, आफ्नै गृह प्रदेशमा नगर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन गराउन नसकेकोमा निधि आफैं आलोचित भएका छन् ।
यदि प्रदेश २ मा नगर, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको भए निधिको पकडबारे सबैले थाहा पाउँथे । निधिलाई पनि महाधिवेशनमा आफूलाई आउने मतको विश्लेषण गर्दै चुनावी रणनीति बनाउन सजिलो हुन्थ्यो । तर, हालसम्म महाधिवेशन प्रतिनिधि नै छनोट हुन नसक्दा निधि निकै ठूलो तनावमा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।