काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा सभापति पदका आकांक्षीले दौडधुप सुरु गरेका छन् ।
औपचारिक रूपमा सभापति पदमा लड्ने जानकारी दिँदै सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल सुरु गरिसकेका छन् भने देउवालाई टक्कर दिन अगाडि सरेका छन्, उपसभापति बिमलेन्द्र निधि ।
देउवासँग प्रारम्भिक छलफल गर्दा सन्तोषजनक जवाफ नपाएका उपसभापति निधिले कांग्रेसका शीर्ष नेताभित्रै पर्ने प्रकाशमान सिंह र शशांक कोइरालासँग परामर्श गरेका छन् । देउवाले सभापतिमा लड्न जो पनि स्वतन्त्र रहेको र आफूले नछाड्ने स्पष्ट जवाफ दिएपछि निधि कोइराला पक्षसँग छलफलमा लागेका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेतात्रय बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरू क्रमशः डा. शशांक कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिबीच सोमबार आपसी परामर्श भएको छ । तीनै जना सभापति पदका आकांक्षी समेत हुन् ।
उपसभापति निधि निवास बानेश्वरमा भएको छलफलमा आगामी महाधिवेशनबारे छलफल भएको स्रोतले जनाएको छ । छलफलमा निधिले आफूलाई सभापति पदमा सहयोग गर्न आग्रह गरेका छन् ।
जवाफमा नेताहरूले परिस्थिति हेरेर निर्णय गर्ने बताएका छन् । निधि देउवा पक्षका नेता मानिन्छन् भने कोइराला र सिंह कोइराला–पौडेल पक्षका नेता हुन् ।
गत शुक्रबारको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौमा महाधिवेशन गर्ने निधो गरेपछि सभापति पदका आकांक्षी सतहमा देखिन थालेका छन् । सभापति शेरबहादुर देउवाले नै दोस्रो कार्यकाल दोहोरिने गरी सभापतिमा उम्मेदवारी दिने निर्णय गरेर आफू निकट नेताहरूसँग छलफल गरिरहेका बेला निधि समेत सक्रिय बनेका छन् ।
सभापति देउवा पक्षकै उपसभापति बिमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिने इच्छा देखाएका बेला दुबै नेताबीच देउवानिवास बुढानिलकण्ठमा गत शनिबार छलफल भएको थियो । तर छलफलमा दुबै नेताबीच कडा टक्कर हुने देखिएको थियो ।
सभापति देउवासँगको भेटमा उपसभापति बिमलेन्द्र निधिले आगामी महाधिवेशनमा सहयोग गर्न आग्रह गरेपनि देउवाले आफैं लड्ने दाबी गरे ।
सभापति देउवाले निधिलाई आग्रह गर्दै भने, ‘सभापतिमा फेरि उठ्छु । २ नम्बर प्रदेशबाट धेरै महाधिवेशन प्रतिनिधि छान्नका लागि तपाईंले सहयोग गरिदिनुपर्यो ।’ जवाफमा निधिले भने, ‘तपाईंलाई सहयोग गर्न सकिँदैन, यसपालि संस्थापन पक्षबाट म उम्मेदवार हुन्छु, मलाई सहयोग गर्नुपर्यो ।’ यसरी दुबै नेताबीच बुढानिलकण्ठमा कडा टक्कर भएको थियो ।
निधिको जवाफ सुनेपछि देउवाले उम्मेदवार बन्ने स्वतन्त्रता सबैलाई रहेको जवाफ फर्काएका थिए । निधिले फेरि भने, ‘विगतमा तपाईंलाई मैले सहयोग गर्दै आएको छु । यसपटक सभापतिमा म उम्मेदवार बन्छु । प्रधानमन्त्री तपाईं बन्नुस् । मैले गर्ने सहयोग गरिरहन्छु ।’

महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापतिमा दोहोरिन खोजेका देउवाले ७ वटै प्रदेशका आफूनिकटका नेताहरूसँग छलफल गरिरहेका छन् ।
देउवाले सामूहिक छलफलमा प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेताहरूसँग आफू अन्तिम पटक सभापतिमा उठ्न लागेको र सभापति बनेपछि पार्टीलाई पुरानै अवस्था पहिलो नम्बरमा फर्काएर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
देउवाले नेताहरूसँग भने, ‘अन्तिम पटकको लागि सभापतिमा लड्ने हो, पार्टीलाई पुरानै अवस्थामा पुर्याएर चुनावमा पहिलो नम्बरको बहुमत दिलाउन लाग्छु ।’
देउवाले सबैलाई भनेका छन्, ‘तपाईंहरुले विगतमा जसरी सहयोग गर्नुभएको छ, अब पनि सहयोग गर्नुस् । कांग्रेसलाई देशको नम्बर १ पार्टी बनाउने योजनासहित समावेशी टीम बनाएर महाधिवेशनमा जान्छु ।’
सभापति देउवाले महाधिवेशनलगत्तै ३ वटै तहको निर्वाचनको तयारी गर्नुपर्ने भएकाले पार्टीलाई चुस्तदुरुस्त बनाएर लैजाने बताएका छन् । २०७२ सालमा सम्पन्न १३ औं महाधिवेशनबाट देउवा सभापति पदमा निर्वाचित भएका हुन् ।
कांग्रेसका तत्कालीन कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतअन्तरले हराउँदै देउवा सभापति बनेका हुन् । देउवाको पक्षमा १ हजार ८२२ र पौडेलको पक्षमा १ हजार २९६ मत खसेको थियो ।
शुक्रबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गाउँ, नगर वडाको अधिवेशन साउन १२ गते, गाउँपालिका, नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्न प्रस्ताव गरेको छ ।
प्रदेश अधिवेशन भदौ १ र २ तथा केन्द्रीय अधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका संशोधन गरेर पारित गरेको थियो ।
आगामी महाधिवेशनमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले सभापतिमा उम्मेदवारी दिने चर्चा छ ।
कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा देउवा, पौडेल, कोइराला कुनै पनि पक्षमा सर्वसम्मत उम्मेदवार देखिएका छैनन् । कांग्रेस नेपालको पुरानो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसको नयाँ नेतृत्वमा सबैको चासो रहने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।