काठमाडौं – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले पर्सि आईतवार देशभरका अदालतमा बहस पैरवी नगर्ने नयाँ आन्दोलन घोषणा गरेको छ ।
आज शुक्रवार साँझ बसेको नेपाल बार एशोसिएशनको कार्यसमिति बैठकले सर्वोच्चमा हतियार सहितका दंगा प्रहरी परिचालन गरेर कानून व्यवसायीमाथि धरपकड भएको विरोधमा बहस पैरवी नगर्ने निर्णय गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि आन्दोलनमा उत्रिएका कानून व्यवसायीले पछिल्लो समय जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन गेटमा धर्ना दिँदै आएका छन् तर चोलेन्द्र वैकल्पिक बाटोबाट सर्वाेच्च जाने गरेका छन् ।
बारले सोमवार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि अग्रसरता लिन आग्रह गर्दै ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ । आज शुक्रवारका लागि तोकिएको ज्ञापनपत्र बुझाउने कार्यक्रम सोमवार सरेको छ ।
बारले सर्वोच्च अदालतमा गर्दै आएका विरोधका कार्यक्रमलाई यथावत राख्ने र मंगलवार अन्तिम हदम्याद भएका बाहेकका मुद्दा दर्ता नगर्ने निर्णय समेत गरेको छ ।
बुधवार देशभरका १८ वटा उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पठाएर विरोधसभा गर्ने निर्णय समेत भएको बारले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।