आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाल प्रहरीका ठूलै अधिकारी एआईजी पाललाई पक्राउ गर्ने यस्तो षड्यन्त्र !

नेपाल प्रहरीका ठूलै अधिकारी एआईजी पाललाई पक्राउ गर्ने यस्तो षड्यन्त्र !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ३० २०७८

  • 4.9K
    SHARES

  • नेपाल प्रहरीका ठूलै अधिकारी एआईजी पाललाई पक्राउ गर्ने यस्तो षड्यन्त्र !

    काठमाडौं – नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाएर पक्राउ गरी वृत्तिविकास सिध्याइदिने प्रयास भएको चर्चा छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यतिबेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी पाललाई सर्लाहीको कुमार पौडेल इन्काउन्टर प्रकरणमा मुद्दा लगाउन खोजिएको हो ।

    प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत् पक्राउ पुर्जी जारी गर्नेसम्मको तयारी भएको खुलेको छ ।

    प्रहरीमा दोस्रो वरियताका पाललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी नदिई चौथो नम्बरका प्रद्युम्न कार्कीलाई तोकिएको थियो । नेपाल प्रहरीको सेवा अवधि बढाउने चर्चा चलिरहेका बेला पाललाई पक्राउ पुर्जी जारी गरी निलम्बनमा राख्न सके अन्य पदाधिकारीलाई सहज हुने ठानेर यस्तो षड्यन्त्र रचिएको चर्चा संगठनभित्र चलिरहेको छ ।

    आईजीपी थापा, एआईजी पाल र प्रद्युम्न कार्की एउटै समूहमा भर्ना भए पनि पाल कार्कीभन्दा अगाडि एआईजी भएका थिए । बिहीवार महानिरीक्षक थापा भारत भ्रमणमा जाँदा मर्यादाक्रममा दोस्रो स्थानमा रहेका एआईजी पालले निमित्तको जिम्मेवारी पाउनुपथ्र्याे । पालले नपाए तेस्रो मर्यादाक्रममा रहेका निरजबहादुर शाहीले निमित्त आईजीपी पाउनुपर्नेमा चौथो मर्यादामा रहेका एआईजी कार्कीलाई जिम्मेवारी दिइएको थियो ।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पौडेलका आफन्तले इन्काउन्टर फेक भएको भन्दै गत असोज १७ गते सर्लाही जिल्ला प्रहरी कार्यालयमा हत्यामा संलग्न रहेको आरोप लागेकाहरुविरुद्ध जाहेरी दिएका थिए ।

    सो जाहेरीमा पालमाथि पनि छानबिन होस् भन्ने माग गरिएको छ तर प्रहरीभित्रको आन्तरिक राजनीतिका कारण उनलाई कार्यकालअघि नै मुद्दा चलाएर हटाउने तयारीमा केही प्रहरी लागिपरेका थिए । उनीहरुले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेटेर पालविरुद्ध मुद्दा चलाउनुपर्ने सुझाव दिएका थिए ।

    तर प्रधानमन्त्री देउवाले यो विषयमा अहिले ध्यान दिनुनपर्ने भनेपछि मात्रै सो कार्य रोकिएको स्रोतको दाबी रहेको छ । ‘नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने विषयमा छलफल चलिरहेका बेला एआईजी पाललाई मुद्दा लगाई निलम्बनमा राख्न खोजिएको हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भनेको छ ।

    २०७६ असार ५ गते पौडेललाई सर्लाहीको लालबन्दी–१ स्थित लखन्देही जंगलनजिक घेरा हालेर प्रहरीले हत्या गरेको आरोप आफन्तले लगाएका छन् । त्यसअघि असार १ गते नै डीआईजी पालको सरुवा भइसकेको थियो तर धनुषामा असार ५ गतेमै एउटा प्रहरी कार्यालय उद्घाटन गर्नुपर्ने कार्यक्रम राखेका कारण उनी त्यहाँ रोकिएका थिए ।

    त्यही दिन पौडेलको हत्या भएपछि परिवारका सदस्यले तत्कालीन डीआईजी पालविरुद्ध पनि उजुरी दिए । ‘बिहीवार प्रहरी महानिरीक्षक थापा भारत पुगेपछि शुक्रवार नै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट पक्राउ पुर्जी जारी गर्न लगाउने तयारी भएको थियो,’ स्रोतले भन्यो, ‘यो विषयमा प्रहरी महानिरीक्षक थापा पनि जानकार छन् ।’

    सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित भारतीय प्रहरी सेवा (आईपीएस) मा भाग लिन प्रहरी महानिरीक्षक थापा आफैं पुगेका थिए । यसअघि आईपीएसमा सहभागी हुन नेपाल प्रहरीबाट एआईजी र डीआईजी मात्र जाने गरेका थिए । यसपटक उनी आफैं सहभागी हुनुलाई पनि प्रहरीभित्र यस घटनासँग जोडिएको छ ।

    ‘आईपीएसमा सहभागी हुन यसअघि डीआईजी जाने गरेका थिए, अहिले आईजीपी आफैं गए,’ प्रहरी स्रोतले भन्यो ।

    पौडेलकी आमा दुर्गादेवीले दिएको जाहेरीमा सर्लाही जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी गोपाल भट्टराई, तत्कालीन २ नम्बर प्रदेशका डीआईजी हरिबहादुर पाल, प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्की र जिल्ला अस्पताल सर्लाही मलंगवामा तत्कालीन अवस्थामा कार्यरत डा. वीरेन्द्रकुमार मण्डललाई विपक्षी बनाइएको थियो । सोही जाहेरीलाई अघि बढाउने क्रममा प्रहरी प्रधान कार्यालयले पाल लगायत केही अधिकारीलाई पक्राउ पुर्जी जारी गर्न सर्लाही प्रहरीलाई निर्देशन समेत दिएको थियो ।

    ‘केही नाम आउन सक्छन्, पक्राउ पुर्जीको तयारी गर्नू भनिएको थियो तर कसकसलाई पक्राउ पुर्जी जारी गर्ने भन्नेबारे केही उल्लेख थिएन,’ जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले भन्यो । पौडेलकी आमा दुर्गादेवीले दिएको जाहेरीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पौडेलको गैरन्यायिक हत्याका लागि खटाएको भन्दै प्रहरी हवल्दारद्वय सत्यनारायण मिश्र र विनोद साह, प्रहरी निरीक्षक कृष्णदेव साह, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई समेत गैरन्यायिक हत्यामा संलग्न रहेको दाबीसहित कारबाही माग गरिएको छ ।

    जाहेरीमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सल्लाह, योजना र तयारीमा आफ्ना छोराको हत्या भएको दाबी समेत गरिएको छ ।

    पौडेल हत्याको योजना बनाएको भन्दै स्थानीय नेताहरु वसन्तराज भट्टराई, कमल बुढाथोकी र प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीमाथि पनि अनुसन्धान हुनुपर्ने दुर्गादेवीको माग थियो । ‘पाल बढुवा हुँदा पनि यही मुद्दालाई बढाइएको थियो । अहिले ३० वर्षे सेवा अवधि हटाउने हल्ला चलेका बेला पनि पालमाथि षड्यन्त्र सुरू भएको हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

    विगतमा नवराज सिलवालमाथि पनि पक्राउ पुर्जी जारी गरेर उनलाई भूमिगत बस्न बाध्य पारिएको थियो । आईजीपी थापाले कार्कीलाई निमित्त आईजीपीको जिम्मेवारी दिएकै कारण तल्लो तहका प्रहरी अधिकृत पनि असन्तुष्ट रहेका छन् । उनीहरुले वरीयता मिचेर निमित्तको जिम्मेवारी दिँदा यसले चेन अफ कमान्डमै असर पर्ने बताएका छन् ।

    यसअघिका महानिरीक्षक सर्वेन्द्र खनालले पुष्कर कार्कीलाई नै निमित्तको जिम्मेवारी दिने गरेका थिए । उपेन्द्रकान्त अर्यालले पनि राजेन्द्रसिंह भण्डारीले अस्वीकार गर्दा सुरेन्द्रबहादुर शाहलाई निमित्तको जिम्मेवारी दिने गरेका थिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १२ २०७७०६:१८:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend