आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्च अदालतभित्र अराजकताको पराकाष्ठा !

सर्वाेच्च अदालतभित्र अराजकताको पराकाष्ठा !

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २६ २०७८

  • 3.8K
    SHARES

  • सर्वाेच्च अदालतभित्र अराजकताको पराकाष्ठा !

    काठमाडौं – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानून व्यवसायीले बिहीवार सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरेका छन् ।

    न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नारा–जुलुस भएको सायदै पहिलो पटक हो ।

    नेपाल बारका पूर्व पदाधिकारी, वर्तमान पदाधिकारी, वरिष्ठ अधिवक्ताहरु सम्मिलित विरोध कार्यक्रममा उत्तेजित नारा लगाइएका छन् । कानूनका ज्ञाताहरु नै सर्वोच्च अदालत परिसरमा संयमित बन्न सकेको देखिएन ।

    प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारले दोस्रो चरणको आन्दोलन थालेको छ । राजीनामा माग राखेर कालोपट्टीसहित नेपाल बारको प्राङ्गणमा धर्ना दिँदै आएका कानून व्यवसायी बिहीवार सर्वोच्च अदालत परिसर पुगेका छन् ।

    सर्वोच्च अदालतभित्रै माइक राखेर विरोध कार्यक्रम गर्ने तयारी गरिरहेका कानून व्यवसायीलाई सुरक्षाकर्मीले संवेदनशील स्थान भएकाले भित्र कार्यक्रम नगरिदिन आग्रह गरे । सुरूमा ५ जना सुरक्षाकर्मीले रोकेकाले माइक राखेर कार्यक्रम गर्न नपाउँदा उपस्थित कानून व्यवसायी आक्रोशित बने ।

    सुरक्षाकर्मी र आन्दोलनकारी कानून व्यवसायीबीच धकेलाधकेल समेत भएको छ । त्यसपछि आक्रोशित बनेका कानून व्यवसायीले प्रधानन्यायाधीश राणाविरुद्ध अमर्यादित नारा लगाएका छन् ।

    नेपाल बार एशोसिशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यलगायत वरिष्ठ अधिवक्तादेखि अधिवक्तासम्म नाराबाजीमा सहभागी भएका थिए ।

    बारका अध्यक्ष श्रेष्ठ लगायतलाई सर्वोच्च प्रशासनले अदालतभित्र नाराबाजी नगरिदिन आग्रह गर्‍यो । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुवँरले बारका अध्यक्षलाई आन्दोलनमा संयम र धैर्य नगुमाइदिन आग्रह गरेका थिए ।

    सर्वोच्च प्रशासनले बार एशोसिएशनले भद्र्र सहमति तोड्दै नियोजित हिसाबले जबरजस्ती अदालतभित्रै नाराजुलुस गरेकोमा असन्तुष्टि जनाएको छ । बिहीवार भएको घटनामा सर्वोच्च प्रशासन र सुरक्षाकर्मीमाथि दोष लगाउनु गलत भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

    दाहालले भने, ‘बारका पदाधिकारी सीमा नाघेर मर्यादाविपरीत उत्रिनु गलत हो । आफ्नो पदीय मर्यादा, उत्तरदायित्व, सामाजिक अवस्था बिर्सेर जे पायो त्यही नारा लगाउनु ठीक होइन । प्रशासनले विरोध कार्यक्रम गर्न पाइँदैन भनेको होइन । विरोध गर्न,आफ्ना कुरा राख्न पाइन्छ । उहाँहरु बौद्धिक वर्ग हुनुहुन्छ, संयमित भएर निषेधित क्षेत्रमा नभई सीमित एरियामा रहेर आन्दोलन गर्न आग्रह गरिएको हो ।’

    कानून व्यवसायीमाथि सुरक्षाकर्मीबाट आक्रमण नभएको र सञ्चारमाध्यममा आएका भिडियो हेर्दा पनि त्यस्तो नभएको थाहा हुने दाहालले बताएका छन् ।

    नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले विज्ञप्तिमार्फत न्यायपालिकाका विकृति, विसंगति हटाउन प्रधानन्यायाधीशको राजीनामा माग राखेर शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेका कानून व्यवसायीमाथि बिचौलिया र भिजिलान्ते लगाएर आन्दोलन तुहाउने प्रयास भएको आरोप लगाए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend