काठमाडौं – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरु तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रिने भएका छन् ।
प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य शर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरुले सोमवार इजलास फर्केर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गरेका थिए ।
प्रधानन्यायाधीशले मुद्दा नहेर्ने शर्तमा बन्दीप्रत्यक्षीकरण रिट हेरेका न्यायाधीशहरु मंगलवार पुनः छलफलमा जुटेसँगै तिहारलगत्तै आन्दोलनलाई थप सशक्त बनाउने निष्कर्षमा पुगेका छन् ।
‘हामीले प्रधानन्यायाधीशको शर्त पनि हेर्यौं, उहाँले सम्मानजनक बहिर्गमन चाहेको न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मासँग प्रस्ताव राख्नुभयो,’ एक न्यायाधीशले भने, ‘हामीलाई के शंका लाग्यो भने उहाँको यस्तो प्रतिवद्धता आउने तर कार्यान्वयनमा शंका देखेपछि हामीले तत्काल प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्यौं ।’
प्रधानन्यायाधीश जबराले आफू बाहेकको इजलासमा बन्दीप्रत्यक्षीकरण रिटको मात्रै पेशी तोकिदिएपछि न्यायाधीशहरु इजलास फर्किएका थिए । गत सोमवार ६ वटा बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ भएपछि प्रधानन्यायाधीशले मंगलवार पनि ६ वटा बन्दी प्रत्यक्षीकरण रिट तोकेका थिए तर न्यायाधीशहरु आफूहरुलाई प्रधानन्यायाधीशले अलमलमा मात्रै राख्न खोजेको निष्कर्षपछि मंगलवारको सुनुवाइ प्रभावित हुन पुग्यो ।
न्यायाधीशहरुले बुधवार बन्दी प्रत्यक्षीकरण रिट मात्रै हेर्ने र तिहारपछि आन्दोलनको कार्यक्रम लिएर आउने निष्कर्ष निकालेका छन् ।
विगत ९ दिनदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका थिए । सुरूमा फुलकोर्ट बैठक बहिष्कार गर्नेमा सर्वोच्चका १४ न्यायाधीश रहेका थिए । प्रधानन्यायाधीश जबराको विपक्षमा अहिले सर्वोच्चका १९ न्यायाधीश एकजुट भएर उभिएका छन् ।
न्यायाधीशहरु प्रधानन्यायाधीशको राजीनामा नआएसम्म नियमित मुद्दा नहेर्ने निचोडमा पुगिसकेका छन् । प्रधानन्यायाधीश जबरा भने राजीनामा नदिने बरु सुनुवाइका लागि इजलास तोकिरहने मनस्थितिमा देखिएका छन् ।
नेपाल बार एसोसिएसनले बुधवारसम्म प्रधानन्यायाधीश जबराले निकास नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गरेर जाने बताएको छ । मंगलवार नेपाल बार एशोसिएसनको प्राङ्गणमा भएको विरोध सभामा बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले तिहारपछि आन्दोलन गर्न सडकमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
‘तिहारलगत्तै हामीले देशभरको बार इकाइसँग संवाद र छलफल गर्छांै,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसपछि हाम्रो आन्दोलनको रणनीति तय हुनेछ । हामीले प्रधानन्यायाधीशको सहज बहिर्गमन होस् भनेर सोचिरहेका छौं तर उहाँले अड्डी कसेमा हामी सडक आन्दोलनमा नागरिकसँगै हातेमालो गरेर अगाडि बढ्नपर्ने हुनसक्छ ।’
वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमन हुन नसक्ने जिकिर गरेका छन् । दाहालले न्यायालयलाई विवादमा ल्याउने प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन कसरी हुन्छ भनी प्रश्न गरेका छन् ।
‘संस्थाको गरिमालाई कायम राख्न नसक्नेले राजीनामा दिएर निकास दिने हो,’ वरिष्ठ अधिवक्ता दाहालले भने, ‘सम्मानजनक बहिर्गमन खोज्ने होइन ।’
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकाभित्र देखिएको विवादमा सरकारले हस्तक्षेप नगर्ने बताए । काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री बडुले सरकारले न्यायपालिकामा हस्तक्षेप नगर्ने बताएका छन् ।
‘स्वतन्त्र न्यायपालिकामा देखिएको समस्या त्यहीबाट हल होस् भन्ने सरकार चाहन्छ,’ उनले भने, नागरिकको आस्था र विश्वासमा कमी आउन दिन्न हुन्न ।’ आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।