काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा वैदेशिक भ्रमणमा रहेका बेला कार्यबाहक प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खाँणलाई कार्यबाहक दिएकी हुन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ । शुक्रबार नै देउवा विदेश भ्रमणमा गएका छन् ।
शुक्रबारै कार्यबाहक प्रधानमन्त्रीको हैसियतमा केन्द्रीय सुरक्षा समितिको बैठक राखेर खाँणले केही निर्णय गरेका छन् ।
कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री खाँणको अध्यक्षतामा शुक्रवार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिबारे छलफल भएको थियो । बैठकले अब अवैधानिक रूपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थक कडाइ गर्ने निर्णय गरेको छ ।
सीमामा कडाइ गर्नका लागि नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागन तथा सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकले गरेको छ ।
पछिल्लो समय कोभिड–१९ संक्रमण बढ्न थालेकाले नाकामै स्वास्थ्य जाँच गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
थप नागरिकलाई प्रवेश गर्न नदिने के गर्ने भन्नेबारे समेत बैठकमा छलफल भएको थियो । बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिकको संख्याबारे सुरक्षा निकायका प्रमुखले कार्यबाहक प्रधानमन्त्री खाँणलाई ब्रिफिङ गरेका छन् ।
बैठकमा कार्यबाहक प्रधानमन्त्री खाँणले अनाधिकृत रुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा कडाइ गर्नुपर्ने बताएका छन् ।
कार्यबाहक प्रधानमन्त्री खाँणको सक्रियतामा बसेको बैठकमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की सहभागी रहेका थिए ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आमन्त्रित रहेका थिए । समसामयिक विषयमा थप छलफल गर्नुपर्ने भन्दै आइतवार पुनः बोलाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।