काठमाडौं – देशभरका कानून व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा गराउने निर्णय गरेको छ ।
आज सोमवार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीश राणाले निकास दिनुपर्ने तर्क गर्दै राजीनामा मागेको छ ।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं । यसको औपचारिक निर्णय भोलि सार्वजनिक हुन्छ । भोलि सबै सल्लाहकारहरूसँग बृहत् छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौं ।’
प्रधानन्यायाधीश राणाले न्यायपालिकाभित्र सबैलाई मिलाउन नसकेको आरोप बारले लगाएको छ । ‘न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँको काम कारवाहीबाट अरु सहकर्मीहरू नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि ! त्यसैले निकास दिनुपर्छ भनेका हौं । यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ? भन्नै पर्दैन । स्पष्ट छ,’ उनले भने ।
बारको आकस्मिक बैठकबाट भएको राजीनामा माग्ने निर्णय भोलि मंगलवारको सल्लाहकार परिषद्को बैठकपछि थप परिपक्व हुने बताइएको छ । सर्वाेच्च अदालतभित्रै बहुमत न्यायाधीशहरूले समेत राणाको विरोध गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।