काठमाडौं – प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको मुद्दामा सर्वाेच्च अदालतमा बुधवार समेत सुनुवाइ हुन सकेन । मुद्दा २०६८ सालमा दर्ता भएको थियो ।
सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला पत्रकार कनकमणि दीक्षितविरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दा बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलास परेको थियो ।
स्वार्थ बाझिने भन्दै न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा हेर्न नमिल्ने भएका कारण सुनुवाइ भएन । न्यायाधीश कार्कीले विगतमा कानून व्यवसायी हुँदा मुद्दामा बहस गरेका थिए । न्यायाधीश कार्कीको स्वार्थ बाझिने भएकाले बुधवारको संवैधानिक इजलासले मुद्दा हेर्न नमिल्ने भएको सर्वाेच्च अदालत स्रोतले जनाएको छ ।
यसअघि २०७६ फागुन ३० गते मुद्दा पेशीमा चढाइएको थियो तर हेर्न नभ्याएपछि उतिबेला पनि सुनुवाइ सरेको थियो ।
सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि रहेको छ । २०६२ बैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामालाई अपहरण गरिएको थियो ।
साउन तेस्रो हप्ता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध २०६४ सालमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी हुन् ।
२०६४ फागुन २२ गते सर्वोच्चको आदेशपछि जाहेरी दर्ता भएको थियो तर डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटा विरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि मुद्दा अलपत्र परेको थियो ।
भट्टराई सरकारको निर्णयविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च अदालत पुगिन्, सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।