काठमाडौं – नेकपा एमालेले विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन हुँदा सचिव योगेश भट्टराई लगायत नेताहरू एमालेमै रहे । नेता माधवकुमार नेपालसँग नजिक हुँदाहुँदै पनि नेताहरूले एमाले छाड्न सकेनन् ।
एमालेमै रहने शर्त थियो, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सहमति कार्यान्वयन । यसमा अध्यक्ष केपी शर्मा ओली सहमत भएका थिए । तर कतिपय सन्दर्भमा जेठ २ गतेमा फर्काउन ओली सहमत भइरहेका छन् ।
हालै चर्चामा रहेको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पूर्ववत् सहमतिअनुसार उपाध्यक्ष भीम रावललाई दिन अध्यक्ष ओलीले आनाकानी गरे । ओलीले इन्चार्जको जिम्मेवारी पूर्व माओवादी नेता लेखराज भट्टसँग नै रहने स्पष्ट पारेका छन् ।
उपाध्यक्ष रावलले पूर्ववत् जिम्मेवारी नपाएको अवस्थामा सचिव योगेश भट्टराईले भने बाजी मारेका छन् । सचिव भट्टराईले जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउँदै प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
हालका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आज शुक्रवार पार्टी कार्यालयमा विभागको बैठक राखेर आफू अब विभागमा नरहेको र जेठ २ गतेकै संरचनाअनुसार भट्टराई प्रमुख हुने घोषणा गरेका छन् ।
नेकपा माओवादी केन्द्रसँग एमाले एकता हुनुअघि एमाले प्रचार विभाग प्रमुखमा भट्टराई रहेका थिए । जेठ २ गतेअघि योगेश भट्टराई प्रचार विभाग प्रमुख हुँदा पनि सूर्य थापा उपप्रमुख र विष्णु रिजाल सचिव रहेका थिए ।
हाल रिजाल विदेश विभाग उपप्रमुख बनेका छन् । थापा नेकपाकालमा पनि नारायणकाजी श्रेष्ठ प्रचार विभाग प्रमुख हुँदा पनि उपप्रमुख रहेका थिए ।
सचिव भट्टराईले प्रमुखमा फर्किंदा पनि थापा प्रचार विभाग उपप्रमुख नै रहने भएका छन् ।
विभागका सदस्यमा पहिले र अहिलेका मिलाएर बनाइने भएको छ । ज्ञवालीले प्रचार विभाग छाडेको भए पनि प्रवक्ता कायमै रहने जनाइएको छ ।
एमालेमा जेठ २ गतेको अवस्थामा फर्काउने बहस चलिरहेका बेला सचिव भट्टराईले भने बाजी मारेका छन् । बागमती प्रदेश इन्चार्जमा समेत उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पुनः जिम्मेवारी नदिएर पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’लाई इन्चार्ज बनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।