काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सामान्य नागरिकको करबाट खरिद गरिने प्रहरीका सामान गुणस्तरीय खरिद गर्न निर्देशन दिएका छन् ।
प्रहरी मुख्यालयमा निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाँणले खरिदमा गुणस्तर हेर्न आग्रह गरे ।
उनले भने, ‘नेपाल प्रहरीको लागि खरिद गर्दा सामान्य नागरिकको करले खरिद गर्दैछौ भनेर गुणस्तरीय सामान खरिद गर्न आग्रहका साथै निर्देशन दिन चाहन्छु ।’
गृहमन्त्री खाँणले प्रहरी र राज्य एउटै सिक्काका २ पाटा भएका बताए । ‘एउटा सिपाही र अधिकृतको प्रस्तुतिले सबैलाई प्रतिबिम्बित गर्छ । संविधानको रक्षा र पालना गर्नु हामी सबैको दायित्व हो,’ मन्त्री खाँणले भने, ‘आफ्नो भूमिका र जिम्मेवारी निष्ठापूर्ण निर्वाह गर्नुहुनेछ भनी विश्वास लिएको छु ।’
बहुदलीय व्यवस्थामा सरकारको नेतृत्व परिवर्तनलाई नागरिक र प्रशासनले सामान्य रूपमा लिनुपर्ने उनले बताए । ‘४८ सालको गृहमन्त्री रहनुभएका शेरबहादुर देउवा प्रहरीको नवीन भूमिका र क्षमता वृद्धि र स्तरोन्नतिका लागि सकारात्मक हुनुहुन्छ र प्रहरीलाई सबल बनाउन उहाँ गम्भीर हुनुहुन्छ ।’
प्रहरीमा रिक्त रहेका ९ हजार ६२५ पदहरूमा यथाशीघ्र पूर्ति गर्न जरुरी रहेको गृहमन्त्री खाँणले बताए । ‘नयाँ दरबन्दी, आवश्यक सामग्री र उपकरणहरूको उपलब्धतालाई हामीले गम्भीरताको साथ लिएका छौं,’ उनले भने ।

अग्रपंक्तिमा रहेका प्रहरी जवानको काम र जनतालाई दिइरहेको सेवा, कोभिड रोकथाममा राज्यको नियम पालना गराउन खटेका र आफ्नो जीवनको उर्जाशील समय संगठनप्रति निर्वाह गरेका भूपूहरू र बहालवाला सबैमा गृहमन्त्री खाँणले सम्मान व्यक्त गरे ।
बालबालिका र महिलालाई हिंसाबाट बचाउन सरकार गम्भीर भएर लाग्न जरुरी रहेको गृहमन्त्री खाँणले बताए । ‘नेपालका विभिन्न स्थानमा प्रहरीको उपस्थितिले राज्यको उपस्थितिलाई जनाएको छ, त्यसको लागि धन्यवाद !’ उनले भने ।
‘नेपाल प्रहरीको सांस्कृतिक कलाकार र खेलाडीहरूलाई प्रोत्साहित गर्न जरुरी छ, हामी प्रतिबद्ध छौं । मेरो कलेजका दिनहरूमा खेल हेर्न जाँदा महेन्द्र पुलिस कल्बको सहभागिता नहुँदा खेल नै खल्लो लाग्ने गर्थ्यो । राष्ट्रिय गौरव खेलाडीहरूलाई हामीले प्रोत्साहन र संरक्षण गर्ने जरुरी छ,’ मन्त्री खाँणले भने, ‘खेलमा टीम हुन्छ, प्रतिस्पर्धा हुन्छ, स्वाभाबिक लिनुपर्छ । प्रहरीमै टीम हुनुहुँदैन । संगठनमा एक भएर देश र जनताप्रति समर्पित हुन आग्रह र निर्देशन गर्दछु ।’
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाँणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका छन् ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।