काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि बढ्ने भएको छ ।
सत्तापक्षीय सांसदले भोलि बुधबारका लागि बोलाइएको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वाेच्च अदालतमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’ भएपछि भोलि बैठक बस्ने भएको हो । बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढ्नेछ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्मिलित विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत रहेको छ । यस्तो बेला मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभाबाट पारित हुने चर्चा छ ।
सरकार ढल्नै लाग्दा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले दलको बैठक बोलाएका छन् । बुधबार बिहान बस्ने दलको बैठकमा एमालेको रणनीतिबारे छलफल हुने जनाइएको छ ।
बुधबार बिहान मुख्यमन्त्री निवास मिलनचोकमा संसदीय दलको बैठक बोलाएको नेता बैजनाथ चौधरीले बताएका छन् ।
प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको जनाइएको छ । दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने वा राजीनामा दिने भन्ने टुंगो लगाउने स्रोतले जनाएको छ ।
तर एमालेले एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री नियुक्त भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने जिकिर गर्दै आएको छ । यस्तै जिकिरसहित सर्वाेच्चमा मुद्दा दायर भएकाले मुद्दाको किनारा नलाग्दासम्म अधिवेशन अगाडि बढाउन नपाइने भन्दै संसद अवरोध गर्नसक्ने समेत स्रोतले जनाएको छ ।
संसदमा बहुमत नरहेको देखेपछि यसअघि पोखरेल सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । विपक्षीले पोखरेलले बहुमत गुमाइसकेको आरोप धेरै पहिल्यैदेखि लगाउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।