काठमाडौं – कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीमाथि जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक रूपमा प्रयोग गरिरहेको आरोप थारु अगुवाले लगाएका छन् ।
थरुहट–थारुवान राष्ट्रिय मोर्चाले ‘टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष’ विषयमा आयोजना गरेको बृहत् अन्तर्क्रिया कार्यक्रममा बोल्ने थरुहटका अगुवाले टीकापुरमा भएको आन्दोलनले गर्दा धेरै मन्त्री र सांसद भए पनि थारुको समस्या ज्यूँका त्यूँ रहेको आरोप लगाएका छन् ।
नेता रेशम चौधरी रिहाई अभियानमा लागेका सुरेन्द्र चौधरीले रेशमका नाममा राजनीति भएको भन्दै आक्रोश पोखेका छन् । ‘टीकापुर घटनाले गर्दा रेशम चौधरी जेलमा हुनुहुन्छ तर बाहिर उहाँको नाममा राजनीतिक भइरहेको छ,’ उनले भने ।
जसपाको महन्थ ठाकुर पक्षले रेशम चौधरीको एजेण्डा बोकेर तत्कालीन केपी ओली सरकारमा सहभागी भए पनि कुनै उपलब्धि हुन नसकेको उनले बताए ।
निर्वाचन आयोगमा जसपा नेपालको आधिकारिकताको मतदान हुँदा रेशम चौधरीको तानातान भएकोमा आश्चर्य लागेको उनले बताएका छन् । उनले भने, ‘जसपालाई रेशम चौधरी किन चाहिएको कुरा निर्वाचन आयोगमा प्रस्ट भयो, संसदमा उहाँको मत नचल्ने तर निर्वाचन आयोगमा मत चल्ने यो कुराले रेशम चौधरी उनीहरूलाई किन चाहिएको कुरा पुष्टि भएको छ,’ उनले भने ।
थारुहरूले शान्तिपूर्ण तरिकाले आफ्नो अधिकार लिन चाहेको भन्दै उनले चौधरीलाई नछाडिए थारु युवाहरू भूमिगत आन्दोलन गर्न तयार रहेको धम्की दिए । उनले भने, ‘हामी शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छौं तर रेशम चौधरीलाई छाडिएन भने अर्को तरिकाको आन्दोलन गर्न पनि तयार छौं ।’
अर्का थारु अगुवा चन्दन चौधरीले टीकापुर आन्दोलनलाई धेरै नेताले प्रयोगमा ल्याएको बताएका छन् । उनले भने, ‘संसदमा थुप्रै थारु छन्, मन्त्रीहरू पनि थिए तर थारुको बारेमा कसैले केही बोलेनन्, बरु एमसीसीको बारेमा बोले, अन्य विषयहरू उठाए तर थारुको मुद्दाबारे, रेशम चौधरीको रिहाइ बारेमा बोलेनन् ।’
थरुहट थारुवान राष्ट्रिय मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । भदौ १ गतेदेखि माइतीघरमा प्रदर्शन गर्ने र भदौ ६–७ गते विद्रोह दिवस मनाउने घोषणा गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।