काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीवार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यू, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’
जेलर पुरी आफ्नै कार्यकक्षमा थिए । पुरीले हतारहतार कर्मचारीलाई बोलाएर कार्यकक्षका टेबल/सोफा मिलाउन निर्देशन दिए ।
त्यसको केहीबेरमा करीब सवा ८ बजेतिर सुरक्षाकर्मीको दलबलसहित मन्त्री भट्ट कारागार प्रवेश गरेका हुन् ।
मन्त्रीलाई स्वागत गर्दै जेलर पुरीले सिधै आफ्नो कार्यकक्षमा लगे । केहीबेरमै कैलालीको टीकापुर हत्याकाण्डका अपराधी तथा कैलाली–१ का निलम्बित सांसद रेशमलाल चौधरी जेलरको कार्यकक्षमा आए ।
मन्त्री भट्टले जेलरसँगै बसेर चौधरीसँग करीब २० मिनेटजति कुराकानी गरेका थिए ।
स्रोतका अनुसार भेटमा सरकारमा चौधरी आवद्ध दल जनता समाजवादी पार्टी (जसपा) लाई भित्र्याउने गरी अनौपचारिक कुराकानी भएको थियो । त्यसका लागि चौधरीमार्फत् पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टलाई पठाएका हुन् ।
भेटका बेला चौधरीले ‘मलाई फसाइयो, निर्दोष छु, रिहाइका लागि पहल गरिदिनुस्’ भनेका थिए । मन्त्री भट्टले ‘तपाईं मर्कामा पर्नुभएको हामीलाई पनि लागेको छ, सरकारले आफ्नो ठाउँबाट पहल गरिरहेको छ’ भनेका थिए ।
मन्त्री भट्टले जेलरको कार्यकक्षबाट बाहिर निस्किएर पनि केहीबेर चौधरीसँग कुराकानी गरेका थिए ।
पछिल्लो समय चौधरीसम्वद्ध जसपालाई सरकारमा ल्याउने ध्याउन्नमा प्रधानमन्त्री ओली लागिपरेका छन् । जसपाले त्यसका लागि चौधरीसहित टीकापुर घटनामा मुद्दा चलाइएकालाई विना शर्त रिहा र मुद्दा खारजी गर्नुपर्ने अडान राखेपछि सरकार अदालतबाट भएको फैसलालाई चुनौती दिने गरी सौदाबाजी गर्नेसम्मका चलखेलमा जुटेको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।