काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुकुम्बासीहरूलाई जग्गा दिनु नहुने बताएका छन् ।
आईतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उपाध्यक्ष गौतमले भूमिसुधार लागू गरेर भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्नुपर्ने बताए ।
उपाध्यक्ष गौतमले व्यक्तिगत जमिन सरकारले खरिद गरेर भूमि उपयोगको नीति बनाउनुपर्ने बताएका छन् । ‘जमिन राज्यले किन्नुपर्छ । अब नेपालको कृषिभूमि त्यो एक टुक्रा जमिन्दारी भूमि छैन । त्यो सबै अनेक अनेक हिसाबले कमाएर रगत पसिनाले कमाएको पैसाबाट खरिद गरेको जमिन छ । त्यो जमिनलाई चलन चल्तीको भाउमा सरकारले खरिद गर्ने र अनि त्यसलाई लिजमा दिने । कहाँनिर कसरी उपयोग गर्ने हो भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं,’ गौतमले भने ।
उपाध्यक्ष गौतमले जग्गामा व्यक्तिगत स्वामित्व कायम रहेसम्म भूमिहीन बन्ने प्रक्रिया जारी रहने बताएका छन् । ‘जबसम्म जमिनमाथिको व्यक्तिगत स्वामित्व कायम हुन्छ । सुकुम्बासी बन्ने प्रक्रिया त्यहीबाट हुन्छ । त्यसैले सामाजिक न्यायको सिद्धान्त अवलम्बन गरेर पहिले भूमिसुधार लागौं गरौं,’ गौतमले भने ।
भूमि उपयोगका लागि कानून बनेपनि कार्यान्वयन नभएकोमा गौतमले आपत्ति जनाए । गौतमले भने, ‘हाम्रो देशमा कृषिभूमि जम्मा २६ लाख हेक्टर छ तर त्यो कृषि भूमिको ४ करोड टुक्रा भइसकेको छ । त्यो ४ करोड टुक्रामा तपाईंले कसरी कृषि उत्पादन गर्नुहुन्छ ? जबसम्म अत्याधुनिक प्रविधि प्रयोग गरेर त्यसलाई उत्पादनमा लैजान सकिँदैन, तबसम्म हामी कृषिमा आत्मनिभर हुँदैनौं, बाहिर पठाउने त कुरै छैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।