काठमाडौं–नेकपा सचिवालय बैठकले छ महिनाअघि राष्ट्रिय सभाको रिक्त सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गर्यो । तर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निर्णय हालसम्म कार्यान्वयन गरेका छैनन्।
अब पनि अर्थमन्त्री युवराज खतिवडालाई नै त्यहाँ पठाउने हो भने वाणिज्य बैंकको अध्यक्ष बनाउन सदस्यमा नियुक्त उपेन्द्र कोइरालाकोभन्दा चर्को बिरोध हुने सम्भावना छ ।
त्यहि बिरोधको सुईंको पाएर गौतमलाई बालुवाटारले नयाँ फूलबुट्टा भरिएका आश्वासनका नयाँ नयाँ पोकाहरु दिन थालेको बताइन्छ ।
आश्वासनमा ‘पछिल्लो सहमतिपश्चात् प्रधानमन्त्रीलाई पार्टीको जिम्मेवारी कम र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई धेरै दिइने भएकाले तपाईंले उपाध्यक्षको भूमिकामा पार्टीभित्र प्रचण्डलाई चेक एण्ड ब्यालेन्समा राख्नुपर्ने देखियो । कमरेडले राष्ट्रिय सभा र मन्त्री भन्दापनि अहिले सक्रिय उपाध्यक्षको भूमिका निभाउनुपर्ने भयो’ भनिएको सुन्नमा आएको छ ।
सांसद तुलसा थापालाई क्याबिनेट पुनर्गठनमा व्यवस्थापन गर्ने संकेत दिँदै ‘आगामी महाधिवेशनमा तपाईं नै पूर्व एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार हुने भएकाले त्यहिअनुसार अघि बढ्नुस् कमरेड’ भनिएको पनि अर्को हल्ला छ । यस्तो अवस्थामा गौतमले ‘राष्ट्रिय सभाको सदस्य अब मलाई चाहिएन’ भनिदिने विश्वास लिएकाहरुले त्यसपछि लगत्तै खतिवडालाई मनोनित गर्ने योजनामा बालुवाटार रहेको जनआस्था साप्ताहिकले लेखेको छ।
खतिवडाले पनि पछिल्लो सातादेखि आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् । सरकारी सञ्चार माध्यमहरूको प्रयोग गरी अर्थ मन्त्रालयको उपलब्धिको फेहरिस्त सार्वजनिक गर्न थालेका छन् ।
यसबीच विश्व बैंक, बेलायत सरकार, एशियाली विकास बैंक र चिनियाँ सहयोग सम्बन्धमा भएका फोन वार्ताको पनि समाचार बनाउन लगाइएको छ । यसबीचमा धेरै ऋण भित्र्याएको र भित्र्याउने तयारीमा रहेको सूचनासमेत प्रवाह गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।