काठमाडौं–नेकपाका उपाध्यक्ष बामदेव गौतम पार्टी भित्र निर्णायक बनेका छन्। उनले जता साथ दियो, त्यतै पल्लाभारी हुने अवस्था छ। अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गौतमले साथ नदिंदा सत्ता संकट बढेको थियो । तर, तिनै बामदेवको साथले उनको सत्ता जोगियो ।
अहिले बामदेव राष्ट्रियसभामा जाने विषय लगभग निश्चित भइसकेको छ । उनैले विगतको पार्टी निर्णय भन्दै यसलाई कार्यान्वयन गर्न माग गरेका थिए । तर, बामदेव राष्ट्रियसभा सदस्य बन्नका लागि मात्र सरकारमा जान लागेको होइनन् भन्ने निश्चित भइसकेको छ ।
यतिबेला उनी अर्थमन्त्रीको दाबेदार रहेको चर्चा चलेको छ । दुईपटक गृहमन्त्री भइसकेका उनी किन अर्थ मन्त्री बन्न चाहेका छन् त?
अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता पाउनेमा प्रश्न उठेको छ । उनी सांसद नभएकाले भदौ १९ बाट स्वतः अर्थमन्त्री रहनेछैनन् । यसकारण मात्र बामदेवको ध्यान अर्थमा गएको होइन ।
खतिवडा नेकपाभित्र निकै आलोचित छन् । उनी प्रधानमन्त्री ओलीका प्रीय भएपनि ओलीनिकटस्थले नै मनपराउँदैनन् । राजनीतिक पृष्ठभुमिबाट नआएकाले उनको कार्यशैलीले नेकपालाई भविष्यमा नकारात्मक असर पर्ने विश्लेषण भइरहेको छ । लोकप्रीय काम उनको पालामा खासै हुन सकेन । बरु कतिपय कारणले उनी आलोचित भए । प्रतिनिधिसभा चुनाव हारेका बामदेव राष्ट्रियसभामा जान खोज्दा आलोचित नहुनुमा उनले अर्थमन्त्री दाबी देखाउनु पनि कारण हो । नेकपाभित्र अर्थमन्त्रीको बर्हिगमनको पक्षधर धेरै छन् । जुन भावना बुझेर बामदेवले कार्ड फालेका छन् ।
अर्थमन्त्री भएमा कतिपय लोकप्रीय काम गरेर पार्टी पंक्तिभित्र र बाहिर समेत मन जित्न सकिने बामदेवको विश्वास रहेको बुझिएको छ । उनले यसलाई आफ्नो राजनीति अझ मजबुत बनाउने अवसरका रुपमा लिन खोजेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।