काठमाडौं – अल्पमतमा रहेर पनि प्रदेश प्रमुखको आडमा कुर्सी जोगाइरहेका मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव अगाडि बढाएको छ ।
विपक्षी गठबन्धनले ४ महिनामा तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
मंगलवार दिउँसो प्रदेशसभाका ३४ सांसदको हस्ताक्षरसहित गठबन्धनका दलहरूले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यसपछि विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।
सांसदको माग अनुसार अब १५ दिनभित्र संसद अधिवेशन बोलाउनुपर्ने प्रावधान छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाइएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमोर्चासहित अन्य विपक्षी गठबन्धनका ३४ सांसदले प्रस्तावमा हस्ताक्षर गरेका जनाइएको छ ।
गत वैशाख महिनायता सत्तारुढ नेकपा एमाले नेतृत्वको सरकारविरुद्ध विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा गठबन्धन नै बनाएर सत्ता ढाल्न कोसिसमा रहेका छन् । तर सफल भइरहेका छैनन् । अहिलेसम्म तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवको आडमा मुख्यमन्त्री पोखरेलले कुर्सी जोगाएपनि अब नयाँ प्रदेश प्रमुख अमिक शेरचन आएकाले पोखरेललाई सजिलो छैन ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षीले वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमाथि छलफल गर्न वैशाख १९ गते बोलाइएको संसद अधिवेशन बस्नुअघि नै पोखरेलले राजीनामा दिएपछि अधिवेशन अन्त्य भएको थियो । लगत्तै मुख्यमन्त्री पोखरेल एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका थिए । यतिबेला प्रदेश सभामा एकल बहुमत नभएपनि पोखरेलले मुख्यमन्त्रीको कुर्सी ओगटेर बसेका छन् ।
दोस्रो पटक बैशाख २६ गते पुनः विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएपनि प्रदेश प्रमुख यादवले संविधान बमोजिम नभएको भन्दै विपक्षीको माग खारेज गरेका थिए ।
अब प्रदेश प्रमुख आफू अनुकूल आएकाले विपक्षी दलहरू हौसिएका छन् । संघमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार बनेपछि पुराना यादवलाई पदमुक्त गरेर नयाँ शेरचनलाई नियुक्त गरेर पठाइएको छ । कम्युनिस्ट पृष्ठभूमिका शेरचना मुख्यमन्त्री बनेर आएका छन् भने लुम्बिनीमा माओवादी केन्द्र संसदीय दलका नेता मुख्यमन्त्री बन्ने दौडमा छन् । यसरी विपक्षीको पक्षमा माहोल मिलेको छ ।
तर मुख्यमन्त्री पोखरेल हार मान्ने अवस्थामा छैनन् । पोखरेलले सर्वाेच्च अदालतबाट राहत पाइने आश गरेका छन् । मुख्यमन्त्री पोखरेललाई सहयोग गर्दै आएका जसपाबाट पदमुक्त भएका ३ सांसद र माओवादी केन्द्रबाट एमालेमा आएपछि कारवाहीमा परी पद गुमाएका २ सांसद गरी ५ सांसद पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालत गएका छन् । यी ५ जनाको पक्षमा सर्वाेच्चले आदेश दिएमा मुख्यमन्त्री पोखरेलको सरकार सुरक्षित हुनेछ तर सर्वाेच्चले पुनर्बहाली नगरेमा पोखरेलको बहुमत पुग्ने छैन । मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले सांसदको मुद्दा अदालतमा विचाराधीन रहेका बेला सत्ताको खेल नखेल्नख आग्रह समेत गरेको छ ।
मंगलवार अविश्वासको प्रस्ताव दर्ता भएकाले भदौ १ गतेसम्म अधिवेशन आह्वान हुनुपर्छ । त्यसअघि नै अदालतबाट ५ सांसद पुनर्बहाली नभए पोखरेल नेतृत्वको सरकारको बहुमत नपुग्ने देखिएको छ ।
प्रदेश सभामा कायम रहेका ८० सांसदमध्ये एमालेका ३९, कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ सांसद रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।