काठमाडौं – बहुप्रतिक्षित प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आज सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने अनुमानबीच राजधानी काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
राजधानी काठमाडौं उपत्यकामा ४ वटै सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ ।
फैसला आएसँगै निम्तिनसक्ने परिस्थितिलाई आकलन गर्दै सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको सुरक्षा स्रोतले जनाएको छ ।
आज सोमबार बिहानैदेखि काठमाडौंका सडकमा ७०० भन्दा बढी प्रहरी र सुरक्षाकर्मी परिचालन भएको छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सुरक्षा निकायलाई तयारी अवस्थामा राखेर सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको जानकारी दिए ।
सुरक्षा निकायले सर्वोच्च अदालतको फैसला जस्तो पनि आउन सक्ने भएकाले तयारी अवस्थामा रहन मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी बल समेत उल्लेख्य मात्रामा परिचालित गरिएको छ ।
गत जेठ ८ गते मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएपछि सर्वाेच्चमा रिट परेको थियो । विघटनविरुद्ध परेको रिटमा सर्वोच्चका संवैधानिक इजलासमा लामो बहसपछि सोमवार फैसला आउनसक्ने अनुमान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।