काठमाडौं – गण्डकी प्रदेशमा नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङलाई विस्थापित गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । तर निवर्तमान मुख्यमन्त्री गुरुङको गडबडीले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई समस्या परेको छ ।
गण्डकी प्रदेश सरकारमा प्रवक्ता तथा मन्त्री कुमार खड्काले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै निवर्तमान मुख्यमन्त्री गुरुङले पदबाट बाहिर जाँदाजाँदै गरेका गडबडीबारे खुलासा गरेका छन् ।
गुरुङ सरकारले जाँदाजाँदै स्रोत विना नै साढे ४ अर्ब रुपैयाँ बराबरको ठेक्का लगाएको र अहिले स्रोत प्राप्त नभएको खड्काले बताए । ‘रातो किताबमै नभएको योजनालाई ठेक्का प्रक्रियामा लैजानु गलत काम गरिएको छ,’ प्रवक्ता खड्काले भने, ‘अघिल्लो सरकारले रातो किताबभन्दा बाहिरको योजनामा ठेक्का प्रक्रिया अघि बढाएको छ । यो ठेक्का खोल्ने हो भने प्रदेशमा बजेट बाँकी नै रहँदैन ।’
गुरुङ सरकारले स्रोत विना नै ठेक्कामा लगाइएका योजना लमजुङ, कास्की, स्याङ्जाका २/२, तनहुँ, गोरखा, म्याग्दी र बागलुङका १/१ योजना रहेका छन् । कास्कीको १ मोटरेबल पुलबाहेक बाँकी सडक योजना रहेका छन् ।
ठेक्कामा लगाइएका योजनाको विस्तृत अध्ययन प्रतिवेदन समेत तयार गरिएको छैन । हचुवाको भरमा गुरुङ सरकारले ठेक्का लगाएपछि अहिले पोखरेल नेतृत्वको प्रदेश सरकारलाई ‘निल्नु न ओकल्नु’ भएको छ ।
तत्कालीन मुख्यमन्त्री गुरुङले पदमुक्त हुने थाहा पाइसकेपछि हतारहतार यी योजना ठेक्कामा लगाएको थियो । जसले गर्दा अहिले स्रोत जुटाउनै समस्या परिरहेको खड्काले जानकारी दिए ।
योजना माग, छनोट, प्रारम्भिक अध्ययन, योजनाको मूल्यांकन, लागत अनुमान, बजेट विनियोजन नै नगरी ठेक्का प्रक्रियामा जानु गैरकानूनी हुने जानकारहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।