काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै नेताहरूलाई कारवाही गरिरहेका बेला ओली गुटमाथि चौतर्फी संकट आइरहेको छ ।
कर्णाली प्रदेशमा पार्टीभित्रै फ्लोर क्रस भएर एमालेको प्लान तुहिएका बेला आज सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) सांसदलाई तत्कालै मन्त्री बनाएर पोखरेलले कुर्सी जोगाउन खोजेपनि माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्नसक्ने सम्भावना उत्तिकै रहेको जानकारहरू बताउँछन् । अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुँदा फ्लोर क्रस भएमा शंकर पोखरेलले कुर्सी गुमाउनुपर्नेछ ।
ओली गुटकै अर्का विश्वासिला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन आह्वान भएको छ ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आगामी बैशाख १३ गतेका लागि प्रदेशको विशेष अधिवेशन बोलाएका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध बैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपाले विशेष अधिवेशनको माग गरेका हुन् ।
अविश्वासको प्रस्ताव तयार हुनैलाग्दा संसदको चालू सातौं अधिवेशन मुख्यमन्त्री गुरुङले वैशाख १ गते मध्यरातदेखि लागू हुने स्थगित गरेपछि विशेष अधिवेशन बोलाउन माग गरिएको हो ।
गण्डकी प्रदेश सभामा ६० सदस्य रहेका छन् । जसमध्ये मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र सांसद १ रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।