काठमाडौं - गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुँदैछ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध वैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वासको प्रस्ताव दर्ता हुन लागेको सुइँको पाएपछि वैशाख १ गते मध्यरातमै मुख्यमन्त्री गुरुङले संसद अधिवेशन अन्त्य गराएका थिए । तर अविश्वासको प्रस्ताव दर्तासँगै तीन दलले विशेष अधिवेशनका लागि प्रदेश प्रमुख अमिक शेरचनसामु समावेदन दिएका थिए ।
२७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन् । यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।
अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने विश्वास विपक्षी दललाई छ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् ।
प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ । सम्भवतः सोमबार नै गण्डकी प्रदेशमा कांग्रेसका पोखरेल मुख्यमन्त्री बन्नेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।