काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले १४औं महाधिवेशनमा आफूले उपसभापति वा महामन्त्रीमध्ये एउटामा उम्मेदवारी दिने बताएका छन् ।
बुधबार सञ्चारकर्मीसँगको भेटघाटमा नेता महतले दुवैमा आफ्नो योग्यता पुग्ने भन्दै छलफलपछि एउटामा उम्मेदवारी दिने बताएका हुन् । उनले पुर्ख्यौली बिरासतको आधारमा नभई योगदानको आधारमा नेतृत्व चयन हुनुपर्ने भएकाले सभापतिमा शेरबहादुर देउवाको विकल्प नरहेको पनि बताए ।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला तथा नेता प्रकाशमान सिंहमा पिताले गरेको योगदानको ब्याज खानुपर्छ मान्यता रहेको उनले आरोप लगाए ।
नेता महतले पुर्खाको योगदान वा पुर्ख्यौली बिरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबैलाई आग्रह गरे ।
पार्टीभित्रका तीन पुत्र नेताहरूको भेटघाटलाई लक्षित गर्दै उनले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने दाबी गरे ।
तीन पुत्र नेताको भेटघाटले सकारात्मक सन्देश नदिएको उनले टिप्पणी गरे । महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जोकोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।