काठमाडौं - नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको बजेटमाथि कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल र दीपक गिरीले असन्तुष्टि जनाएका हुन् । थापाले बजेटलाई अवास्तविक भने ।
पौडेलले धेरै ठाउँमा बजेट चुक भएको र थपघट गर्नुपर्ने बताए । गिरीले बजेटबाट सांसदको हैसियत वडाध्यक्षको तहमा पुगेको बताए । बजेट शीर्ष नेताको जिल्लामा छुट्याएको भन्दै उनले आपत्ति जनाए । कांग्रेस महामन्त्री थापाले बजेट अवास्तविक रहेको र यसलाई अर्थमन्त्री महतले स्वीकार गर्नसक्नुपर्ने बताए ।
उनले बजेटबाट ठूला व्यापारीमा चरम निराशा देखिएको र साना व्यापारी समस्यामा परेको बताए । न्यून आर्थिक वृद्धि, बेरोजगारी र मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकिएन डरलाग्दो अवस्था सिर्जना हुने उनको भनाइ छ ।
‘अवास्तविक बजेटलाई डिफेन्स गर्दागर्दै छोटो सिरक जस्तो, सिरक माथि तान्यो तल पुग्दैन, तल तान्यो माथि पुग्दैन, त्यसैले यसको वास्तविकतालाई स्विकार्नुपर्छ’, थापाले भने ।
बजेटको अनुमान गलत छ भनेर अर्थसचिवले नै भनिसकेको अवस्थामा यो अनुमानलाई कसरी परिणाममा ल्याउने भन्ने विषयमा सोच्नुपर्ने उनको भनाइ छ । ठूल्ठूला आयोजनाको कामलाई कसरी अघि बढाउने भन्ने स्पष्ट दृष्टिकोण हुन आवश्यक रहेको उनले बताए ।
कांग्रेस सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश गर्नु हुन्छ भनी अर्थमन्त्री महतसँग प्रश्नसमेत गरे ।
‘केही दिन अगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरुलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नुभएको थियो । म माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु– हामीले छलफलमा उठाएका यी विषयहरुलाई तपाईले बजेटमा कसरी समावेश गर्नु हुन्छ ? यो संसदलाई स्पष्ट गराई दिनु हुन म अनुरोध गर्न चाहन्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।