नुवाकोट - नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले संसद विघठन भएर मुलुकको यो अवस्था आउनुमा केपी ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालको दोष बराबर रहेको उनले बताएका छन् ।
नुवाकोटमा सोमबार नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले आयोजना गरेको संयुक्त विरोध सभालाई सम्बोधन गर्दै डा.महतले भने ‘संसद विघठन गरेर ओलीजीले संविाधन उल्लंघन भएको छ’, उनले थपे, ‘ओली प्रधानमन्त्री बन्ने बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा सांसदहरू नियुक्ति गर्दा १७ दिनसम्म राष्ट्रपतिले रोकेर राखेर संविधान उल्लंघन गर्नुभएको थियो । ओलीले संविधान उल्लंघन गर्दा प्रचण्ड र माधवजीहरूले हेरेर बस्नुभयो । अहिले ओलीले संसद भङ्ग गरेर सत्ता एकलौटी बनाएपछि प्रचण्ड र माधवजीले बल्ल संसद उल्लंघन भएको देख्नुभयो ।’
संसदमा फरक दलको सभामुख र उप–सभामुख हुनुपर्ने भनेर कांग्रेसले बारम्बार आवाज उठाउँदा प्रचण्ड–माधवलगायतका नेताहरूले टुलुटुलु हेरेर बसेको उनले बताए । ‘कांग्रेसले संविधान उल्लंघन भयो भन्दा ओली–प्रचण्ड–माधवहरू मिलेर बस्नुभयो । ओलीले सत्ता दिन नमानेपछि संविधान उल्लंघन भयो’, डा।महतले भने, ‘स्वार्थ मिल्दासम्म उहाँहरू मिलेर बस्नुभएको थियो । संसद विघठन हुनुमा ओली–प्रचण्ड–माधवजीहरूको उत्तिकै भूमिका छ ।’
डा.महतले संसद विघठनसम्बन्धी विषमा छिटो फैसला दिन सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । सर्वोच्चले मुद्धालाई धेरै लम्बाउन नहुने बताए । उनले संसद विघठनको विषयलाई गहिरो अनुसन्धान गर्नुपर्ने कुरा नरहेको भन्दै संविधानलाई हेरेर फैसला गर्नुपर्ने बताए ।
‘सर्वोच्चले संसद विघठनको मुद्धा धेरै लम्बाउनु हुँदैन । चाँढोभन्दा चाँढो निर्णय दिनुपर्छ’, डा.महतले भने, ‘सर्वोच्चको फैसला आयो भने त्यसपछि कांग्रेस कुन कोर्समा जाने हाम्रो पार्टीले निर्णय लिन्छ ।’
सह–महामन्त्री डा.महतले सर्वोच्चको फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताए । उनले चुनावको बाटो सबैभन्दा उपयुक्त भएको बताएका छन् ।
डा.महतले कम्युनिस्ट सरकारले चरम भ्रष्टाचार गरेको आरोप पनि लगाएका छन् । ‘नेताहरूको नाममा खोलेको गैरसरकारी संघ संस्थाको नाममा अरबौं बजेट दिएका छन् । उपभोक्ता समितिका नाममा पैसा खर्च गरेका छन्’, उनले भने, ‘पारदर्शीता छैन । बजेट बाँडेर खाएका छन् ।’
ओली सरकारसँग कारोनाविरुद्धको खोप ल्याउने हुती नभएको उनले बताएका छन् । ‘भारतले छिमेकी राष्ट्रहरूलाई आफै कोरोनाविरुद्धको दश लाख डोज खोप दिएको हो’, डा.महतले भने, ‘ओली सरकारले ल्याएको होइन । खोप ल्याउने सक्ने औकात राख्दैन ।’
उप–प्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा स्वास्थ्य सामग्री खरिद गर्दा करोडौँ रुपियाँ भ्रष्टाचार भएको डा.महतले आरोप लगाएका छन् । ‘करोडौंका भ्रष्टाचार भएको छ । कोरोनामा २० अर्ब खर्च भएको भनिएको छ’, उनले भने, ‘२० अर्ब खर्च हुँदा जनताले के पायो ?’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, नेविसंघका महामन्त्री दीपक भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।